ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपालको सिमानाबारे प्रबचन कार्यक्रम

समाचार

भक्तपुर, ३ मंसीर


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपालको सिमानाबारे प्रबचन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भारत आफुभन्दा साना र कमजोर देशहरुमाथि हस्तक्षेप र भूमि अतिक्रमण गर्दै अन्तराष्ट्रिय स्तरमा शक्तिशाली बन्ने होडमा लागिरहेको बताउँदै अन्तर्राष्ट्रिय जगतमा भारतीय विस्तारवादको विरोध गर्नु आवश्यक भएको बताए ।
देशलाई अप्ठ्यारो पर्दा आवाज नउठाउने र विरोध नगर्ने नागरिक देशभक्त हुन नसक्ने भन्दै उनले यो समयमा हरेक न्यायप्रेमी र देशभक्त नागरिकले सशक्त रुपमा कुटनीतिक लडाईँ लडेर भारतलाई पराजित गर्नुपर्ने बताए ।
भारतीय विस्तारवादले नेपाललाई कहिल्यै स्वतन्त्र देशको रुपमा स्वीकार गर्न नचाहेको बताउदै उनले “सानो दशेको राजनैतिक अस्तित्व हुँदैन भन्ने तरिकाले भारत अगाडि बढेको देखिन्छ” भने ।


आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपले पनि स्वतन्त्र नहुने भन्ने ढंगले भारतले नेपालको आर्थिक क्षेत्र ध्वस्त पार्न खोजिरहेको जिकीर गर्दै अन्यायको विरोध नगर्ने नागरिकले कसैको हितमा काम नगर्ने हुँदा नगरपालिकाले देशभक्त नागरिक तयार गर्ने उद्देश्य रहेको बताए ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य एवं वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वयले नेपालको पूर्वी र पश्चिमी सीमा कहाँसम्म छ भन्ने राजनीतिक स्तरबाट स्पष्ट नहुँदा भारतीय सरकारसँग आप्mनो भूमि दाबी गर्न नेपालीहरुलाई समस्या भइरहेको बताए ।
उनले देशभक्त नेपाली जाताले लिम्पियाधुरा अतिक्रमणको विषयमा आवाज बुलन्द गर्नुपर्ने र यो विषयमा नेपाल सरकारलाई स्पष्ट धारणा सार्वजनिक गराउन बौद्धिक समुदायले दबाब दिनु आवश्यक भएको बताए ।


कार्यक्रममा बोल्दै ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल र ख्वप इन्जिनियरिङ कलेजका प्रचार्य सुजन माकले लिम्पियाधुरा, कालापानी, लिपुलेकको वास्तविकताबारे विद्यार्थीहरुलाई जानकार गर्न र सचेत पार्न यो कार्यक्रम आयोजना गरेको र देशैभरका युवा तथा विद्यार्थीहरु भारतीय हस्तक्षेपको विरोधमा सडकमा उत्रेका छन् भन्दै यसको सशक्त विरोध गर्नु आवश्यक भएको बताए ।
कार्यक्रममा सीमाविद् रतन भण्डारीले “लिम्पियाधुरा सीमा अतिक्रमणः नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डता माथिको नाँगो आक्रमण” विषयमा प्रस्तुतिकरण गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सीमाविद् रतन भण्डारीलाई मायोको चिनोस्वरुप मयुरको झ्याल प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *