भक्तपुर नगरपालिकामा पसल व्यवसायीहरुको भेला

अर्थ/वाणिज्य समाचार

भक्तपुर, ३ मंसिर


भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार नगरपालिकाको सभाकक्षमा भक्तपुर नगरभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम सम्पन्न भयो ।
भेलामा सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले बजारमा राखिएको जथाभावी सामानका कारण यातायातलाई अप्ठेरो पर्ने र दुर्घटना पनि हुनेतर्फ सचेत पार्दै सडक आवागमनमा बाधा नपुग्ने ढंगले आफ्नो व्यवसायलाई सञ्चालन गर्न अनुरोध गरे ।
बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद नाघेको सामान, किरा परेको, नक्कली सामान तथा अत्यधिक अखाद्य रंगरोगन भएको भेटिएको हुँदा जनताको स्वास्थ्यमा असर पुग्ने कार्य गर्न नहुने बताए ।


कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष एवम् बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद नाघेको खाद्यान्न बिक्री गरेको पाइएको र उक्त खाद्यान्न जफत गरी नष्ट गरेको बताए । उनले उपभोक्ताको स्वास्थ्यलाई नकारात्मक असर पर्ने काम गरेमा कानुनी सजाय हुनेमा सजग हुनुपर्ने बताए ।
कार्यक्रममा उपस्थित व्यवसायीहरुले बाटोमा सामान राख्ने हटाउनुपर्ने, हकर्स नियन्त्रणमा ध्यान दिनुपर्ने, साना व्यापारीसँग थोरै कर लिनुपर्ने, निर्माणाधीन सार्वजनिक शौचालय समयमै सम्पन्न गर्नुपर्नेलगायतका सुझावहरु दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *