कर्मचारी अभावले काम गर्न समस्या

समाचार

सल्यान, २६ कार्तिक


सामाजिक बिकास कार्यालय सल्यानमा ७ जना कर्मचारीको दरबन्दी छ । दरबन्दी अनुसारको कर्मचारी कार्यालयमा कार्यरत हुनुपर्ने हो, तर यस कार्यालयमा एक जना मात्रै कर्मचारी कार्यरत छन् । कार्यालयमा कर्मचारी नहुदाँ काम गर्न समस्या भएको कार्यालय प्रमुख भिम प्रसाद पोख्रेलले बताए । यस आर्थिक बर्षको पहिलो चौमासिक बितिसक्दा पनि कार्यालयमा आबश्यक कर्मचारी नहुदाँ कामकामज गर्न समस्या भएको उनले बताए ।
जिल्लामा कार्यालय स्थापना गरेर जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सरकारको उद्धेश्य राम्रो भएपनि आबश्यक कर्मचारी नहुदाँ काम गर्न समस्या भएको उनको भनाई छ । शिक्षा, यूवा तथा खेलकूद, श्रम तथा रोजगार, महिला तथा बालबालिका लगाएतका क्षेत्रमा काम गर्ने भनेर स्थापना भएको कार्यालयमा कर्मचारी अभाव हुदाँ काम गर्न समस्या भएको कार्यालयले जनाएको छ ।
यस्तै पूर्वाधार बिकास कार्यालय सल्यानमा १२ जना कर्मचारीको दरबन्दी छ । तर अहिले कार्यालयमा ५ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् । कार्यालयमा कर्मचारी नहुदाँ काम गर्न समस्या भएको कार्यालय प्रमुख भूपेन्द्र जैसीले बताउनुभयो बताए । भौतिक पूर्बाधार तर्फ यस आर्थिक बर्षमा गर्नुपर्ने १४ वटा आयोजना छन । सडक, मोटर पुल, झोलुंगे पुल लगाएतका काम गर्ने जिम्मेवारी पाएको कार्यालयमा कर्मचारी अभाव हुदाँ काम गर्न समस्या भएको कार्यालयको भनाई छ ।
वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना भएका छन् । प्रदेश तथा संघ सरकारको मातहतमा रहेका कार्यालय पुनःस्थापना हुने क्रम बढेपनि कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुदाँ काम गर्न समस्या भएको छ । जिल्लामा विषयगत कार्यालय नहुँदा स्थानीयले सास्ती खेप्नुपरेपछि हाल जिल्लामा कार्यालय पुनःस्थापना भएका छन् । तर कर्मचारी भने अभाव रहेको छ ।
प्रदेश सरकारले सामाजिक विकास, पूर्वाधार विकास, कृषि विकास, स्वास्थ्य विकास सेवा, पशु अस्पताल तथा पशुसेवा, खानेपानी सिँचाइ तथा ऊर्जा विकास, वन र घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालय स्थापना गरेको छ । जनताको माग र आबश्यकताका आधारमा जिल्लामा कार्यालय स्थापना गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जिल्लामा स्थापना भएका कार्यालयहरुमा छिट्टै कर्मचारी पठाउने तयारी भैरहेको बताए । ‘प्रदेश सरकारले आबश्यकताका आधारमा कर्णालीका बिभिन्न जिल्लामा बिषयगत कार्यालय स्थापना गरेको छ, कर्णालीमा भएका कर्मचारीलाई परिचालन गरेर कामको थालनी गरेका हौँ’— उनले भने ।
मन्त्री ज्वालाले जिल्लामा स्थापना भएका कार्यालयमा कर्मचारी अभाव हुन नदिन सरकारले काम गरिरहेको बताए । ‘हामीले संघिय सरकारसंग आबश्यक कर्मचारी माग गरेका छौँ, प्राबिधिक धार तर्फका कर्मचारी प्रदेश सरकारले करारमा भर्ना गर्दै छ’ —उनले भने । उनले आबश्यकता अनुसार स्वयम्सेवक कर्मचारी पनि भर्ना गरेर पनि कामलाई अगाडी बढाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *