सिक्टा सिचाईको काम सुस्त

अर्थ/वाणिज्य समाचार

बाँके, २६ कार्तिक

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा निर्माण भईरहेको छ । निर्माणधिन थालेको १४ वष पुगिसक्दा पनि योजनाको काम ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।
नेपाल सरकारले विसं २०६३ माघदेखि निर्माण शुरु गरेको योजना नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । २५ अर्ब रूपैयाँको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिए ।
सिक्टाको सबै काम चालु आर्थिक वर्ष २०७६।०७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । बाँकेमा ३५ हजार ९७० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये करीब १३ हजार ७०० अर्थात् करीब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ ।

सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पटक–पटक स्थलगत अनुगमन गरेर समयमै काम सक्न निर्देशन दिने गरे पनि सरकारले दिएको प्राथमिकताअनुसार प्रतिफल भने देखिएको छैन । आयोजना कार्यालय अहिलेसम्म मूल नहर निर्माणको काममै अल्झिरहेको छ ।आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि सुस्त छ । तीन वर्षअघि अगैयास्थित मुख्य बाँधमा जडान गरिएको १८ वटा गेट सिँचाइका लागि उपयोगमा आउन सकेका छैनन् । सिक्टाको पश्चिम मूल नहर निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ । विसं २०७३ असार १४ गते पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरीखोला छेउमा मूल नहर भत्किएको थियो । पटक–पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथि प्रश्न उठेको छ ।
सिक्टा सिँचाइको काम समयमै नहुँदा किसान मर्कामा परेका मूल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए । ‘हामीलाई सिँचाइ सुविधा चाहियो भनेर मन्त्रालयदेखि सबै ठाउँमा पुग्यौँ, अध्यक्ष डाँगीले भने, ‘सबैको आश्वासन आउँछ तर हाम्रो माग अझै पूरा भएन । गत हप्तामात्रै स्थलगत अनुगमनका क्रममा मन्त्री पुनले एक वर्ष्भित्र सिक्टा सिँचाइ आयोजनाको नहरको काम सक्न निर्देशन दिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित आयोजनाको हेडवक्सस्थल पुगेर मन्त्री पुनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई महिनाको एकपटक अनिवार्य सिक्टाको स्थलगत निरीक्षण गर्न र जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठलाई हरेक महिनामा एकदिन सिक्टा सिँचाइ आयोजनाको प्रगतिबारे मन्त्रालयमा समीक्षा गर्न निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *