महराले दिनुपर्छ अर्को पनि राजीनामा

राजनीति समाचार

काठमाडौं, १४ असोज

 

 

प्रहरीले निवर्तमान सभामुखलाई बलात्कार आरोप लगाएकी महिलाको कोठा पुगेर मुचुल्का उठाएको छ। प्रहरीले मंगलबार अपराह्न पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको हो। प्रहरी स्रोतका अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिडाँडानजिक कोठामा मंगलबार मध्याह्न गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको छ। कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए। महिलाको कोठाबाट बरामद भएका ती वस्तुको फिङ्गर टेस्टका लागि फरेन्सिक ल्याब पठाउने प्रहरीको योजना रहेको स्रोतले बतायो।
आइतबार राति ती महिलाले आकस्मिक नम्बर १०० फोन गरी महानगरीय प्रहरी वृत्त बानेश्वरमा घटनाबारे जानकारी गराएकी थिइन्। महरा रहेको थाहा पाएपछि वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोली त्यहाँ गएको थियो। तर, त्यतिबेलासम्म महरा फर्किसकेका थिए। रेग्मीको टोली मुचुल्का उठाउन महिलाको कोठामा मंगलबार गएको हो। महानगरीय प्रहरी अपराध महाशाखाले पनि अनुसन्धानमा समन्वय गरिरहेको छ। प्रहरीले ती महिलाले दिएको जानकारीको अडियो सुरक्षित राखेको थियो। ‘भोलिपल्ट जाहेरी दिन आउनू भनेका थियौं, तर उहाँ आउनुभएन,’ प्रहरी स्रोतले भन्यो, ‘आजसम्म पनि आउनुभएको छैन।’ महिलाले आफ्ना श्रीमान् तनहुँमा रहेको आएपछि सल्लाह गरेर मात्र जाहेरी दिने बताएको प्रहरीको भनाइ छ। किटानी जाहेरीबिना बलात्कार मुद्दाको अनुसन्धान कठिन हुने भन्दै प्रहरीले जाहेरी कुरेको छ। पीडित महिलाको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ। ती चोटपटकको परीक्षण समयमै हुनुपर्ने प्रहरीको भनाइ छ। बलात्कार मुद्दाको अनुसन्धानमा शारीरिक परीक्षण महत्वपूर्ण मानिन्छ। जति ढिलो भयो परीक्षणको रिपोर्ट कमजोर आउने सम्भावना रहन्छ। ‘शारीरिक परीक्षण गर्न महिला तयार हुनुपर्‍यो, जाहेरी दिनुपर्‍यो। अनि मात्र अनुसन्धान अघि बढ्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले भने। महराले पदबाट राजीनामा दिएसँगै अनुसन्धान प्रक्रिया सहज भएको छ। जाहेरी परेपछि उनलाई सर्वसाधारण नागरिकजस्तै पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई राजीनामाले दबाब दिएको पनि छ। ‘जाहेरी आए हामी घटनाबारे अनुसन्धान गरिहाल्छौं, यसमा सन्देह छैन,’ सुवेदीले भने। महरा आइतबार बेलुका आफैं फोन गरेर ती महिलाको कोठामा पुगेको पीडित महिलाको दाबी छ। दुबै जना बसेर सँगै मदिरापान गरेको उनले बताएकी छिन्। सभामुख महरा पहिलै नै नशामा रहेको महिलाको भनाइ छ। ‘यसबीचमा के कस्तो घटनाक्रम भयो र बलात्कारसम्म भयो। प्रतिकार गर्दा महिलामाथि चोट लागेको, के महराले हिर्काएको हो भन्नेजस्ता कुराहरू समयमै अनुसन्धान हुन जरुरी छ,’ प्रहरीको बानेश्वर वृत्त स्रोतले भन्यो। प्रहरीका अनुसार जाहेरी परे विभिन्न पाटोबाट घटना अनुसन्धान गर्न सकिन्छ। मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्ट, घटनास्थल छेउछाउका सिसिटिभी फुटेज, भेजाइनल स्वाब, डिएनए परीक्षणलगायत परीक्षण गर्न सकिन्छ।
घटना के सम्म भएको हो, सभामुख महराले यौन अपराध गरेकै हुन्र हैनन् निर्क्यौलका लागि भेजाइनल स्वाब र डिएनए परीक्षण आवश्यक छ। ‘यो जाहेरी आएर शारीरिक परीक्षण हुँदा मात्र सम्भव छ, जति ढिलो भयो प्रमाण लोप हुँदै जाने सम्भावना हुनाले अनुसन्धानमा व्यवधान हुन्छ,’ एक अनुसन्धान अधिकृतले भने। घटना भएको बेला महरा पुगेका थिए भन्ने अर्को प्रमाण उनको सवारीसाधन हो। ती महिलाले भनेअनुसार ‘नीलो गाडी’ लिएर गएका भए ती गाडीका चालकलाई नियन्त्रणमा लिएर बयान लिन सकिनेछ। मोबाइलको कल डिटेल्स लिँदा उनीहरूबीच सम्पर्क हुने गरेको विवरण आउँछ। उनीहरू कहिलेदेखि निकट थिए भन्ने विगतदेखिको सम्पर्क थाहा पाउन सकिन्छ। ‘टेलिफोनमा के कस्तो संवाद चल्थ्यो भन्ने अडियो निकाल्न सकिन्छ, त्यसले पनि अनुसन्धानमा प्रमाण जुटाउन सहयोगी भूमिका खेल्छ,’ ती अधिकृतले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *