समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड
नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनलाई समाजबादी आन्दोलन तर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रज्ञा प्रतिष्ठान काठमाडाैंमा बुधबार आयोजित स्थापना दिवसमा बोल्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन् ।
सचिव सुवालले कम्युनिष्ट आन्दोलनलाई संशोधनबाद र अवसरवादबाट जोगाउन नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले नेमकिपालाई लेलिनबादी नीति अनुसार क्रान्तिकारी सांसदबादको उपयोग गर्दै आएको बताए । पूँजीवादी प्रजातन्त्रको एक चम्चा पानीले जनताको प्यास मेटाउन नसक्ने भन्दै अध्यक्ष विजुक्छेले नेपालमा समाजबादी क्रान्तिलाई अगाडी बढाउन आग्रह गर्दै आएको सांसद सुवालले बताए ।
उनले ८० लाख युवाहरुलाई विदेश पठाएर सत्तासिन दलहरुले देशलाई बर्वाद पारेको चर्चा गर्दै नेमकिपा स्थापना कालदेखि नै देश र जनताको पक्षमा लड्दै आएको पार्टी भएको स्पष्ट पारे। उनले देशभरका विद्यार्थीहरुका लागि गुणस्तरीय र सुलभ शिक्षा दिन नेमकिपाले ख्वप विश्वविद्यालय स्थापनाको तयारी थालेकोमा सरकारले ध्यान नदिएकाे बताए । कार्यक्रममा प्रध्यापक समाजका प्रकाश कुमार श्रेष्ठले इन्डोनेसियाको कम्युनिष्ट पार्टीको शिक्षा, इन्जिनियरिङ् समाजका सुजन माकले फासीवाद र नाजीवाद बारे प्रस्तुतीकरण गरेका थिए भने नेपाल भाषा साहित्य त:मुज्याका नरेश खत्रीले कम्युनिष्ट घोषणा पत्र बारे जानकारी दिएका थिए भने नेक्रायुसंघका अध्यक्ष मिनबहादुर बाताले नेपालका शासक दलहरु बारे विश्लेषण गरेका थिए । यसै बीच नेक्राविसंघका सुरेश परियारले इजरायली फासीवादबाट प्यालेस्टिनी भूमि कब्जा र जातीय नरसंहार र अधिबक्ता अनिता जधारीले नेपाल मजदुर किसान पार्टी स्थापनाका आधार र उद्देश्यहरु बारे प्रस्तुतीकरण गरेका थिए ।

५० औ पार्टी स्थापना दिवसको अवसरमा नेमकिपा सचिब एवं सांसद प्रेम सुवालले नेपाल क्रान्तिकारी मजदुर संघबाट प्रकाशित “स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा” पुस्तक विमोचन गरेको थियो । कार्यक्रममा नेमकिपाका सनकमान महर्जनले प्रजग कोरियाको राजदूतावासले पठाएको बधाई पत्र बाचन समेत गरेको थियो भने नेमकिपाका नारायण महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको थियो । यसै बीच नेमकिपा स्थापना दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विचार गोष्ठी तथा प्रवचन कार्यक्रमहरु आयोजना गरेको नेमकिपाले जनाएको छ ।