सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य

समाचार

राजविराज, ६ असोज


तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित दशगज्जा क्षेत्रमा रहेको भाटे पुलको अवस्था जिर्ण हुँदा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको छ । झण्डै ६ दशकदेखि नेपाल–भारतको व्यापारीक, पारिवारिक र मैत्री सम्बन्ध धान्दै आएको पुललाई पक्की बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको हो । दशगज्जा हुँदै बग्ने खाँडो नदी वारपार गर्न कुनैबेला सप्तरीको तिलाठी र आसपासका मनिसले डुङ्गाको प्रयोग गर्थे । नदी वारपार गर्न सहज हुने मनसायले छ दशकअघि जमिन्दारहरुको सहयोगमा स्थानीय जोखन रायले नदीमा भाटे पुल बनाए । जोखनको निधनपछि छोरा छेदीले बाबुको बिँडो थामे । वर्षा याममा पुलको पुनर्निर्माण गर्ने र वारपार गर्नेहरुबाट पाएको अन्न र पैसाले परिवार पाल्दै आएका छेदीको पनि केही वर्षअघि निधन भयो । छेदीका छोरा रामचन्द्रले पुर्खौली कामलाई निरन्तरता दिएपनि अस्वस्थताका कारण रामचन्द्रले मर्मत गर्न नसक्दा पुलको अवस्था जिर्ण हुँदै गएको छ । दुवै देशको सीमानामा रहेको यो पुल भएर दैनिक ५÷७ सय मानिस वारपार गर्ने गरेपनि पुललाई पक्की बनाउनेतर्फ सरकारले पहल नगर्दा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण जोखिमपूर्ण बनेको छ । समान भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कारण दुवै देशका नागरिकका बीचमा पारिवारिक सम्बन्ध छ । तर, त्यो सम्बन्ध धान्नका लागि सरकारले हालसम्म एउटा पुल पनि बनाउन नसकेको भन्दै दुवैतर्फका स्थानीयहरु गुनासो गर्छन् । सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगर, कल्याणपुर, रुपनीसहित अधिकांश क्षेत्रका मानिस बजार भर्नकै लागि कुनौली जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *