सल्यानमा टिक्दैनन् उद्योग

समाचार

सल्यान ८ असोज


सल्यानको शारदा नगरपालिका ३ मा सञ्चालित सिस्नो प्रशोधन उद्योग अहिले बन्द छ । सञ्चालन भएको २ बर्षमा नै यस उद्योग बन्द भयो । लघु उद्यम कार्यक्रमको सहयोगमा सञ्चालित सिस्नो प्रशोधन उद्योगले स्थानिय स्तरबाट कच्चा पदार्थ सिस्नो संकलन गरी सिस्नोको पाउडर बनाएर बिक्री गर्दै आएको थियो ।
६ वर्षअघि कालीमाटी गाउँपालिका ३, काल्चेका महिलाले सञ्चालन गरेको होजियारी उद्योग पनि अहिले बन्द छ । घरेलु तथा साना उद्योग विकास समितिको करिब ८ लाख रुपैयाँ सहयोगमा उद्योग सञ्चालन गरिएको थियो । तर एक वर्ष नबित्दै उद्योग बन्द भयो । अहिले बिभिन्न कारण देखाउदैँ जिल्लामा सञ्चालित उद्योग बन्द हुन थालेका छन् ।
घरेलु कार्यालय लगायत विभिन्न सरकारी निकायको अनुदानमा जिल्लामा सञ्चालित घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको छ । स्थानीय तहलगायत अन्य सरकारी निकायले वर्षेनी सीपमूलक तालिमका नाममा लाखौं रकम खर्चिदै आइरहेका छन् । तर उद्योग बन्द हुँदा तालिम प्राप्त जनशक्ति बेरोजगार बन्ने क्रम बढिरहेको छ ।
बजारको अभावमा उद्योग सञ्चालन गर्न नसकिएको उद्योग सञ्चालकहरु बताउँछन् । काल्चे होजियारी उद्योग व्यवस्थापन समिति सचिव जीविका गौतमले उद्योगबाट उत्पादित सामानले बजार नपाउदा बजार बन्द गर्नुपर्ने बाध्यता रहेको बताईन् । ‘गाउँमा सीप भएको जनशक्ति भए पनि उत्पादित सामग्रीले बजार नपाउँदा उद्योग बन्द गर्नुपर्ने बाध्यता भयो’ उनले थपिन् —‘उद्योग बन्द भएपछि भवन र मेसिन अलपत्र परेका छन् ।’
यस्तै नमूना ढाँका उद्योगकी सञ्चालक प्रेमा चन्दले बजार अभावमा उद्यम सञ्चालनमा समस्या भएको बताईन् । उनले आफुले उत्पादन गरेको सामान महंगो भएको भन्दै बिक्री नै नहुने गरेको बताईन् । ‘एउटा सल बुन्न १५ सय रुपैयाँको धागो खर्च हुन्छ तर बिक्री गर्दा सय रुपैयाँ भन्दा बढी फाइदा हुदैन्’—उनले भनिन् । बजारमा पाइने आधुनिक कपडाले ढाकाको कपडा विस्थापित गरेको उनको भनाइ छ ।
गरिबी निवारण तथा रोजगारीका अवसर सिर्जना गर्न उद्योग सञ्चालनमा ल्याइए पनि बजार र कच्चा पदार्थको अभावले धमाधम बन्द हुने गरेका छन् । सीपमूलक तालिम दिएका संस्थाहरूले उद्योग सञ्चालनका लागि अनुदान उपलव्ध गराए पनि बन्द हुँदा लगानी खेर गइरहेको छ । जिल्लामा साबुन, मैनबत्ती, धुप, पाउरोटी, चाउमिन, बाँस निगालोलगायत उद्योग बन्द हुने क्रम बढेको छ ।
घरेलु तथा साना उद्योग विकास समिति सल्यानका अनुसार जिल्लामा विभिन्न निकायले आर्थिक बर्ष २०६५र०७६ मा करिब ७ सय जनालाई सीपमूलक तालिम प्रदान गरेका छन् । जिल्लामा सञ्चालित उद्योग धमाधम बन्द हुँदा तालिम प्राप्त जनशक्ति बेरोजगार बन्न थालेको कार्यालयका सूचना अधिकारी ध्रुव खत्रीले बताए ।
कार्यालयका अनुसार दर्ता भएका ८३ उद्योग गत वर्ष खारेजीमा परेका छन् भने ३ सय ७ व्यापारिक फर्म पनि खारेजीमा परेका छन् । जिल्लामा अहिलेसम्म २ हजार ७२ उद्योग दर्ता भए पनि १ हजार २ सय मात्र नियमित सञ्चालनमा छन् । घरेलुले गत वर्ष ५ सय ७७ जनालाई सीपमूलक तालिम दिएको थियो । ती मध्ये ४० प्रतिशत मात्र रोजगारीमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *