काठमाडौं, ८ असोज
कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ।
बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो।बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ। त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन्।
बैंकमा पैसा नआउँदा पनि ती व्यक्तिहरूको खातामा पैसा जम्मा भयो। यसरी पासवर्डको दुरूपयोग गर्ने बैंककै कर्मचारी हुन् कि होइनन् भन्ने अनुसन्धान हुँदैछ,’ बैंक स्रोतले भन्यो।उक्त पासवर्डबाट असोज ५ गते १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारिएको थियो। उक्त समूहले त्यसपछि देशका विभिन्न ठाउँबाट जम्मा गरिएको रकम निकालेको थियो । बैंकका प्रवक्ता हिमलाल पौडेलले यो प्रकरणमा बैंकको सिस्टम ह्याक नभएको बताए।उक्त समूहले पैसा जम्मा गरेका सात वटै खाता अहिले बन्द गरिएको उनले जानकारी दिए।‘यो प्रकरणमा कुनै ग्राहकको खाताबाट नभई बैंकको पैसा गएको छ,’ उनले भने।यसैबीच बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट एघार जनालाई पक्राउ गरेको हो।ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। ‘के कति पैसा सारेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने।
नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेको छ। अपराध महाशाखाले बुधबार २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिने एसएसपी थापाले बताए।