एकै दिन २४ हजारले अवलोकन गरे, फर्निचर एक्स्पो आइतवार सकिँदै

अर्थ/वाणिज्य पर्यटन समाचार

काठमाडौं, २८ भदौ


राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिवार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । बुधवारदेखि शुरू भएको एक्स्पोमा शुरूदेखि नै अवलोकनकर्ताको भीड लागेको थियो । एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुशन प्रालिका अनुसार शनिवारसम्ममा ६६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् ।


‘शुक्रवारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । शनिवार मात्र २४ हजारले अवलोकन गरेका छन् । आइतवारसम्ममा ८० हजार बढीले मेला अवलोकन गर्ने अवस्था देखिएको छ ।’ इभेन्ट सोलुशन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले भने ।
प्रदर्शनीस्थलमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको छ । शनिवार ११५ प्रिन्ट रगत संकलन भएको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । अग्रवालले शनिवार अवलोकनकर्ताको बाक्लो उपस्थितिका साथै रक्तदाताको सक्रिय सहभागिताले आफूहरू उत्साहित बनेको अग्रवालले बताए ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुशन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले प्रायोजन गरेको छ । एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसिएशन र स्पेसेज म्यागाजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेस्ट इन्स्योरेन्स रहेको छ ।


एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रदर्शकको सहभागिता रहेको छ ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बनेको छ । एक्स्पो आइतबार समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *