भक्तपुर नपा वडा नं. २ स्थित झ्य भएको फल्चा (पाटी) उद्घाटन

कला/साहित्य शिक्षा समाचार

भक्तपुर, २३ भदौ


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान भक्तपुर नगरपालिका वडा नं. २ ठूलो ब्यासीस्थित झ्य भएको फल्चा (पाटी) र ध्वाका बाहिरको फल्चा (पाटी) उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु सुरक्षित रहेको र भक्तपुर सम्पदा सम्पदा संरक्षित क्षेत्र भएको बताए । नेपाल मजदुर किसान पार्टीको नीति बमोजिम भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माणका कार्यहरुलाई प्राथमिकतामा राख्दै आएको बताउँदै पोखरा र पाटीको महत्वबारे प्रस्ट पारे ।


भक्तपुर नपाले व्यवस्थित योजनाका साथ सम्पदा पुनःनिर्माणमा जोड दिइरहेको बताउदै देशभरिको सम्पदा पुनःनिर्माणमा भक्तपुरबासीहरुको योगदान रहेको र भक्तपुर वडा नं. १ स्थित रानी पोखरी पुनःनिर्माण कार्य अगाडि बढिरहेको बताए । नजिकिँदै गरेको नेमकिपाको सातौं महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न आफ्नो क्षमताअनुसारको भौतिक र आर्थिक सहयोग गर्न आह्वान गरे ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले नगरको विकास निर्माण नगरबासीहरुको राय–सुझाव संकलन गरी प्राथमिकताका आधारमा गरिने बताउदै नगरबासीहरुलाई स्वस्थ बनाउने उद्देश्यले शारीरिक ब्यायाम सामाग्री एक सेट थप जडान गर्न लागको बताए ।
झ्य दगु फल्चा (पाटी) उपभोक्ता समितिका अध्यक्ष विक्रम सुलुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ध्वाका बाहिरको पाटी उपभोक्ता समितिका अध्यक्ष नरेश बासुकलाले समाजको गतिविधिलाई अगाडि बढाउन स्थानीय जनताको सहयोग र जनसहभागिता अति महत्वपूर्ण भएको बताए ।
नेमकिपा २ वडा इकाइ समितिका संयोजक गणेशप्रसाद सुवालले सम्पदा पुनःनिर्माण ठेक्कापट्टामा दिंदा त्यसको मौलिकता हराउने सम्भावना भएको बताउदै नेमकिपाको ७ औं महाधिवेशन भक्तपुर नगरपालिकाको बजेटमार्फत् संरक्षण भएको १०८ रोपनी जग्गामा हुने र जनसहभागिताको लागि अपिल गरे । पाटी उद्घाटन कार्यक्रममा स्थानीय राजकुमार लघुले पनि बोलेको थियो ।
नगरपालिकाको १६ लाख ५० हजार रुपैयाँ लागत इष्टिमेट तयार गरी नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण गरिएको ध्वाका बाहिरको पाटीको खुद खर्च भने १४ लाख ३७ हजार ३ सय ५७ रहेको थियो । साथै झ्य भएको पाटीको लगत इस्टिमेट २९ लाख ९२ हजार ७ सय ५६ थियो र कूल खर्च १४ लाख ९० हजार ६ सय ५६ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *