आज भदौ २१ गते पत्रकारिताका मूलभूत सिद्धान्तहरु शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता र स्वच्छतालाई अंगिकार गर्दै स्थापना गरिएको डिजिटल पत्रिका न्यूज अपडेट भक्तपुर डट कमले पहिलो वर्षको खुड्किलो चढ्दै दोस्रो वर्षको खुड्किला चढ्न सफल भएको छ । हामीलाई समाचार सामग्री उपलब्ध गराई सहयोग गर्ने लेखक, पत्रकार, स्रष्टा, हामे वेब साइट हेरेर साथ दिने सम्पूर्ण शुभचिन्तक, प्रयोगकर्ता, आर्थिक रुपमा सहयोग गर्ने विज्ञापनदाता, प्राविधिक रुपमा साथ दिने प्राविधिक टोली, निरन्तरताका लागि सल्लाह सुझाव दिने मित्रजन सल्लाहकारहरु र यस डिजिटल पत्रिकाको उत्तरोतर प्रगतिका लागि शुभकामना दिने सम्पूर्ण टीम, क्लव, संघ संस्था, विद्यालय, कलेज तथा शुभचिन्तकहरुप्रति न्यूजअप भक्तपुर डट कम परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
नयाँ प्रविधिसँगै उर्लेको विश्वमा अनलाइन सञ्चारमाध्यम अछुट बन्न सक्दैन । वर्तमान प्रविधिको प्रयोग गरी सञ्चारकै कारण जनताको सुसूचित हुन पाउने अधिकारको उपभोग गर्न यस न्यूज अपडेट भक्तपुर तत्पर छ । निरन्तर जनताको हक र मौलिक अधिकारको कार्यान्वयनका लागि यस पत्रिकाले निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौं । शिक्षा, स्वास्थ्य, राजनीति, खेलकुद, विचार, अर्थवाणिज्य, विज्ञान प्रविधि, अन्तर्वार्ता, मनोरञ्जन, कलासाहित्य, समाचारको माध्यमबाट यसका प्रयोगकर्तालाई शिक्षित र सचेत जागरुक तुल्याइरहेको छ । यस पत्रिकाको माध्यमबाट विश्वभरि छरिएर रहेका नेपालीलाई सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बनाउन उत्साहित गरिरहेका छौं । नेपाल र नेपाली भूमिप्रतिको माया, स्नेह र निकतता बढाउन यस पत्रिकाले अथक प्रयास गरिरहेको छ । सामाजिक, सांस्कृतिक मूल्य मान्यतालाई स्थापित गर्न आफ्नो मौलिक कला, संस्कृतिप्रतिको गम्भीर्यता जगाइरहेका छौं । नयाँ सोच र प्रविधिको विकासलाई समाजसापेक्ष प्रयोगमा ल्याई विकृति विसंगतिको विरोधमा यस पत्रिका लागिरहेको छ । वर्गीय रुपमा असहाय, निमुखा, अन्यायमा परेका व्यक्तिलाई न्याय दिलाउन, शोषित पीडित जनताको मत जाहेर गर्न र अन्तरराष्ट्रिय जगतमा वास्तविक चिन्तनको सोच विकास गर्न यस पत्रिका क्रियाशील छ । अन्याय अत्याचारमा परेका सबै वर्ग र लक्षित समूहको न्यायपूर्ण सघर्षमा यस पत्रिकाले साथ दिइरहेको छ ।
अतः हुनेखाने वर्गाका लागि पत्रकारिता होइन, हरेक पक्षबाट अन्यायमा परेका मानिसका लागि भएकाले यस पत्रिकाले समाजवादी सिद्धान्तलाई अंगिकार गरेको छ । निरन्तर रुपमा सबैको साथ, सहयोग पाइरहेमा नेपालको स्वाभिमान, नेपाली हुनुको गर्व र नेपाल र नेपालीप्रतिको आत्मियतामा वृद्धि हुनेछ । संविधानले दिएका मौलिक हक अधिकारको पूर्ण कार्यान्वयन गर्न सक्ने छ । यस डिजिटल पत्रिकाको माध्यमबाट गरिवका मन बोल्न हाम्रो गाउँठाउँका भाका बोल्न र परापूर्वकालदेखिका सकारात्मक इतिहासलाई कोर्न यहाँहरुको सक्रिय सहभागिता पाइरहने अपेक्षा यस न्यूज अपडेट भक्तपुर परिवारले लिएको छ ।
