कन्काई नपाका प्रमुख राजेन्द्र पोखरेल भक्तपुर नगरपालिकामा 

विशेष समाचार समाचार
भक्तपुर, १५ साउन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुधबार झापा जिल्ला कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले भेट गरे । भेटका क्रममा दुई नगरपालिकाका प्रमुख बीच नगरपालिका सञ्चालन, नगरपालिकाको आगामी योजनालगायत विभिन्न विषयमा अनुभव कुराकानी आदानप्रदान गरे ।
भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको स्वामित्वमा ७ वटा कलेज र एउटा माध्यमीक विद्यालय सञ्चालन भइरहेको जानकारी गराउँदै सीटीईभीटीबाट मान्यताप्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट हेल्थ एसिसटेन्ट र आर्किटेक्चर विषय सञ्चालनबारे छलफल भइरहेको बताए ।
नगरपालिकाले सञ्चालन गरिरहेका कलेजहरुमा देशभरिका विद्यार्थीहरुले सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउँँदै प्रमुख प्रजापतिले गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि छात्रवृत्तिको व्यवस्था गरेको र नगरभित्रका सबै विद्यालयमा कक्षा १ र ७, २ र ६ को स्थानीय पाठ्यक्रम लागु गरी विद्यालयस्तरबाटै स्थानीय भूगोल, राजनीति, कला–संस्कृति, सम्पदाबारे बुझाउने प्रयास गरिरहेको जानकारी गराए ।
भक्तपुर नगरपालिकाको आम्दानीको स्रोत स्थानीय जनताको कर र पर्यटन भएको चर्चा गर्दै भक्तपुर नपाले २ वटा आवास योजना सञ्चालन गरिरहेको, ख्वप अस्पताल निर्माणाधीन अवस्थामा रहेको र नगरभित्रको खानेपानी समस्या व्यवस्थापनको लागि विभिन्न ठाउँहरुमा डीप बोरिङ गरी पानी ट्यांकी निर्माण गरिरहेको बताए ।
भेटमा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले कन्काइ नगरपालिका नयाँ नगरपालिका भएको, भक्तपुरको विकासबारे आफूहरुले पनि सिक्न चाहेको र यहाँको विकास निर्माणका कार्य सिंगो देशको लागि उदाहरणीय रहँदै आएको बताए । उनले कन्काई नगरपालिकाले सीटीईभीटीबाट मान्यताप्राप्त गरी पोलिटेक्निक कलेज सञ्चालनको तयारी गरिरहेको उल्लेख गर्दै कन्काई नपामा पर्यटन व्यवसायको सम्भावना प्रशस्त रहेको बताए ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, प्रशासकीय अधिकृत दामोदर सुवाललगायत उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *