भादगाउँले टोपीको महत्व

अर्थ/वाणिज्य समाचार

सर्जिना श्रेष्ठ
भक्तपुर, २५ असार


कालोटोपी देख्ने बित्तिक्कै भादगाउँले टोपी भनेर चिनिन्छ । भादगाउँले टोपी भनेर चिनिनुको खास कारण भक्तपुरमै विशुद्ध रुपमा बनिने मौलिक टोपी हो । तर, यसलाई भक्तपुरको टोपी नभनी भादगाउँले टोपी भन्नुको कारण चाहिँ भादगाउँ भनेको काठमाडौं र ललितपुरभन्दा अविकसित रहेको सन्दर्भमा भादगाउँ भनिन्थ्यो । प्रताप मल्लको पालादेखि नै भक्तग्राम भनि भक्तपुरलाई हेला गरिन्थ्यो । यो क्रम राणाकालसम्म पनि रह्यो । त्यही भएर यहाँ बन्ने टोपीलाई अहिलेसम्म पनि भादगाउँले टोपीको नामले चिनिन्छ ।
यसको सुरुवात कसरी भयो ? कसले बनाउन थालिएको हो ? भन्ने कुरा अहिलेसम्म खुल्न आएको देखिदैँन । तर, यो हाल राष्ट्रिय पोशाककै रुपमा नेपालीले आफ्नो शीरमा लगाउने गरिन्छ । राष्ट्रिय पोशाकको रुपमा नेपाली सेना, निजामती कर्मचारी, विद्यालय र कार्यालयहरुमा अनिवार्य गरिएको छ ।
मानिसको सबैभन्दा महत्वपूर्ण भाग टाउको हो । टाउकाको सुरक्षा गर्नु टोपीको महत्वपूर्ण उद्देश्य हो । विशेषगरी हाम्रो संस्कृतिमा टोपीको महत्व छ । बिहे, ब्रतबन्ध लगायत अन्य कार्यमा टोपी अनिवार्य मानिन्छ ।
भादगाउँले टोपी अलि कडा खालको हुन्छ । यसमा प्रयोग हुने एक खाले कपडाले टाउकोलाई सुरक्षा दिन्छ । बाक्लो कपडाले बनेकोले पानी समेत चुहिँदैनथ्यो । त्यतिबेला यो बाक्लो कपडा तानबाट बुनिन्थ्यो । त्यसमा रङ लगाउँथ्यो । यो काम भक्तपुरका श्रेष्ठ थरका व्यक्तिहरूले गरेको पाइन्छ । अहिले पनि भक्तपुरको भोलाछेँ, गछेँ, सुर्यमढी र नासमनातिर देख्न सकिन्छ । पहिला कपडासमेत तानमा आफै बुनिन्थ्यो भने अहिले बाहिरबाट थानका थान कपडा बाहिरबाट ल्याइने गरिन्छ ।
यस टोपी उत्पादनमा केही चुनौतीहरू पनि छन् जस्तै अहिले बजारमा सस्तो तर कमसल खालको टोपी देख्न सकिन्छ । यसले गर्दा मौलिक टोपीले बजार मूल्य पाइरहेको छैन । लागत नै उठाउन हम्मेहम्मे परेको अवस्था छ । अर्कोतिर टोपी लगाउने चलन बिस्तारे हराउँदै गएको छ । फाटफुट औपचारिक कार्यक्रममा मात्र लगाउने ट्रेण्डले गर्दा मागमा गिरावट आएको छ । यसले गर्दा परम्परागत पेशा अँगाल्नेहरू अहिले वैकल्पिक रोजगारीतिर आकर्षित भएका छन् ।
विदेशी पोसाक मोहले भादगाउँले टोपीको अस्तित्व संकतमा परेको छ । यो नेपालकै लागि दूर्भाग्य बनेको छ ।
यी कुरालाई दृष्टिगत गर्दै कालो टोपीको सामाजिक, सांस्कृतिक, धार्मिक र व्यावसायिक महत्वलाई अझ बढी जोड दिनुपर्छ । यसलाइ राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गर्नुपर्दछ । यसलाई जोगाउन एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरण गर्दै जानुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *