रौतहट, ९ जेठ
बिना भन्सार एक दशकदेखि सदरमुकाम गौरमा निर्वाधरुपमा चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको छैन । तत्कालीन प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेशकुमार सिन्हाले ०६६ चैत १३ गते आफ्नै अध्यक्षतामा सर्वदलीय बैठक राखी भारतीय टेम्पोहरुलाई बिना भन्सार, बिना रोकतोक यात्रुहरु ओसार पसार गर्न दिने भनी गरिएको निर्णय पश्चात निर्वाधरुमा चलेका ती सवारीलाई भन्सार करको दायरा ल्याउन नसकेको हो । भन्सार नियम अनुसार त्यस्ता भारतीय तीन पाङ्ग्रे सवारी साधन नेपालमा प्रवेश गर्दा दैनिक तीन सय ३९ रुपियाँ भन्सार बुझाउनुपर्ने प्रावधान रहेको जिल्ला भन्सार कार्यालय गौरका अधिकृत आशुतोष राईले जानकारी दिए । उनका अनुसार भारतकोे बैरगनियाँदेखि नेपालको सीमावर्ती क्षेत्र गौर बजारसम्म दैनीक ५० भन्दा बढी भारतीय नम्बर प्लेटका टेम्पोहरु एक दशकदेखि नै बिना भन्सार चलेका छन् । जसबाट लाखौं रुपियाँको सरकारी आय गुमी रहेको छ । दलीय सहमतिको आधारमा परम्परादेखि चल्दै आएको ती सवारीलाई भन्सारले चाहेर पनि रोक्न वा भन्सार करको दायरामा ल्याउन नसकिने उनको तर्क छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले यस विषयमा छलफल भइरहेको बताए । उनका अनुसार अब यसको निकास छिट्टै निस्कन्छ । स्थानीय केही राजनीतिकर्मी तथा व्यापारीको विशेष अनुरोधमा जिल्ला प्रशासन कार्यालय रौतहटले त्यतिबेला भारतीय नम्बरप्लेटका टेम्पोलाई निर्वाधरुपमा चल्न अनुमति दिएपछि केही स्थानीय राजनीतिकर्मीले नै भारतीय आफन्तको नाममा टेम्पोमा लगानी गरी चलाउँदै आएको बुझिएको छ । यसरी व्यापारिक एवम् दलीय सहमतिमा चलाइएका भारतीय नम्बरका टेम्पोको न कतै दर्ता छ न कर नै लिन्छ स्थानीय निकायले । टेम्पोको सवारले यात्रुलाई केही सहज बनाएको भएता पनि दादागिरी शैलीमा चलेका ती टेम्पोका कारण वर्षेनी लाखौं रुपियाँको सरकारी आय गुमिरहेको गौर नगरपालिकाका उप मेयर किरणकुमारी ठाकुरको ठम्याइ छ । गौर नगरपालिकाका मेयर अजय गुप्ता भन्नुहुन्छ, “नेपाली नम्बर प्लेटका सवारी सीमा पारी जान नपाउने भएको कारणले यात्रुको सुविधाको लागि भारतीय नम्बर प्लेटको टेम्पो चलेको हो । व्यवसायीकरुपमा चलेका त्यस्ता सवारीले कि त भन्सार काट्नु पर्छ कि त त्यसलाइ बिस्तारै रोक लगाउँदै जानु पर्छ ।” सदरमुकाम गौरबाट भारतीय बजार बैरगनियाँ सम्मको आवागमनमा अबैधानिकतबरले व्यवसायीकरुपमा चलेका भारतीय नम्बर प्लेटका टेम्पोको वर्चश्व रहेपछि वर्षौंदेखि टाँगा चलाउँदै आएका रिक्सा एवम् टाँगा मजदुरको भने बिचल्ली भएको छ ।