नेपालगञ्ज,९ जेठ
साहसिक यात्रा मन पराउने मध्यमवर्गिय भारतीय पर्यटकलाई लक्षित गरि ‘दिल्ली टु रारा एडभेन्चर टुर’ प्याकेज शुरु गरिएको छ । सन २०२० रारा पर्यटन बर्ष सफल बनाउनको लागि सो प्याकेज शुरु गरिएको हो ।
मुक्तिनाथ दर्शन र घुमघामको लागि आउने मौसमी पर्यटकमा निर्भर बाँकेको होटल व्यवसायलाई विविधीकरण गर्ने उद्देश्यले दिल्लीदेखि रारासम्मको सात दिने भ्रमण कार्यक्रम शुरुवात गरिएको हो । ‘पहिलो भारतीय टोलीलाई शनिबार राराको लागि बिदाई गरेका छौं’ बाँकेको कोहलपुरमा रहेको पाँचतारे होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले भने, ‘यो टोलीको भ्रमणबाट प्राप्त हुने अनुभव हाम्रो लागी मार्ग दर्शक हुनेछ ।’
रारा भ्रमणमा पूर्व सैनिक अधिकारी, कर्पोरेट संस्थाका अधिकारी र अवकाश प्राप्त कर्मचारी दम्पत्तिको सहभागिता रहेको छ । ‘पहिलो टोली बिहीबार रारा पुगेर फर्किदै छ’ होटलका प्रबन्ध निर्देशक अर्यालले भने, ‘उक्त भ्रमण टोलीबाट प्राप्त हुने अनुभव हाम्रो लागी मार्ग दर्शक बन्नेछ ।’
सातवटा गाडीमा कुल १७ जनाको टोली दिल्लीबाट आएको हो । उनीहरुको सुविधाको लागि कोहलपुरदेखि थप दुईवटा गाडीमा अटोमोबाइल मेकानिक र पथ प्रदर्शक सहितको टोलीसमेत पठाइएको प्रबन्ध निर्देशक अर्यालले बताए । भ्रमणको तारतम्य भारतको वल्ड अफ ओभरल्यान्ड एड्भेन्चर ट्राभल एजेन्सी र नेपालमा कोहलपुरको होटल सेन्ट्रल प्लाजाले मिलाएको छ ।आफ्नै गाडी हुनेलाई एकजनाको लागि ५० हजार भारतीय रुपैयाँ लिइने छ । आफ्नो सवारी नहुने पर्यटकको लागि समेत होटलले निश्चित शुल्क लिएर गाडी उपलब्ध गराउनेछ । ‘अहिले परिक्षणको रुपमा हामीले शुरु गरेपनि यसको सफलता पछि यहाँका अन्य होटलले समेत फाइदा उठाउन सक्ने छन् । होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक अर्यालले भने । दोस्रो भ्रमण टोली आगामी ५ जुनको लागि तय भएपनि मौसमको अनुकुलतामा निर्भर हुने जानकारी उनले दिए ।
यो प्याकेज अन्तर्गत भारतीय पर्यटकलाई एक हजार किलोमिटर लामो सडक यात्राको क्रममा एक रात कोहलपुर, एक रात कालिकोट र दुई रात तीन दिनको रारा ताल बसाईको सुविधा उपलब्ध गराइएको बताइएको छ ।यो भ्रमणपछि पुनः एक–एक रात कालिकोट र नेपालगञ्ज हुँदै भारतीय पर्यटक सडक मार्गबाटै स्वदेश फर्किन्छन् । आगमनदेखि फिर्तीसम्म भारतीय पर्यटकले कूल २ हजार किलोमिटर लामो सडक यात्राको अनुभव लिन पाउनेछन् ।सडक मार्गबाट निजी सवारीमा पर्यटकको भ्रमणबारे एकवर्ष अघिदेखि नै योजना बनाइएकोमा केही समय अघि भारतीय ट्राभल एजेन्सी सहितको टोलीले सडकको अवस्थाबारे स्थलगत अध्ययन गरेपछि भ्रमण प्याकेज शुरु गरिएको होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक अर्यालले बताए ।