रुकुम,७ जेठ
रुकुम पश्चिमको सदरमुकाम मुसीकोट क्षेत्र भित्रको सडक निर्माण कार्य ढिलाई भएको स्थानीयले गुनासो गरेका छन् । मुसीकोट नगरपालिका १ स्थित कालिका मन्दिरदेखि बह्राटाकुरासम्मको झण्डै एक किलोमिटर सडकको स्तरोन्नतिको काममा ढिलाई भएको हो ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत खलंगा बजारको मुख्य सडकमा पार्किङ टायल बिछ्याएर स्तरोन्नति काम सुरु गरिएको झण्डै तीन महिना वितेको छ । तर निर्माण सुरु गरिएको तीनमा महिनामा पनि सडक स्त्तोरन्तीको कामले गति नलिएको स्थानीयबासी गोरखबहादुर खत्रीले जानकारी दिएका छन् ।
उनले भने, ‘बर्षातको समय सुरु हुँदा सम्म सडक निर्माण हुन सकेको छैन् ।’ सडक स्तरोन्नतिको क्रममा व्यवस्थित ढल निकास पनि बनाइने छ । सडक स्तरोन्नतिका लागि भ्याटसहित २ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । यती विल्डर्सरकोशी न्यौपाने जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएको छ ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत संघीय कार्यान्वयन इकाई सुर्खेत मार्फत निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम थालेको छ । नापी कार्यालय, संघीय कार्यान्वन इकाई सुर्खेत र निर्माण कम्पनीले सडकको स्तरोन्नतिका लागि सडकको केन्द्र भाग र दायाँबायाँ छुट्याउने काम सकेपछि स्तरोन्नतिको काम सुरु भएको थियो । गत साउन महिनामा सघन सहरी विकास कार्यक्रम र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता बमोजिम आगामी असोज महिनामा काम सक्नुपर्नेछ । सम्झौतामा पाँच मिटर चौडाइको सडक बनाउनुपर्ने उल्लेख गरिएको छ ।
काम तोकिएको समयभन्दा ढिला सुरु भएको निर्माण कम्पनीका प्रतिनिधि कमल बुढाले बताएका छन् । सरकारी निकायको तर्फबाट कुन कार्यालयमार्फत सडक निर्माण गर्ने भन्ने टुंगो लाग्न ढिला भएकाले सडकको काम पनि ढिला भएको उनको भनाइ छ ।जिल्ला सदरमुकाम तथा जिल्लाको मुख्य बजारको सडक स्तरोन्नति सुरु भएपछि स्थानीय खुसी भएका छन् । पुरानो तथा धेरै भिडभाड हुने बजारको सडक राम्रो नहुँदा स्थानीयले समस्या बेहोर्नु परिरहेको छ ।
ढलको निकास नहुँदा तथा सडकमा खाल्डाखुल्डी भएकै कारण पनि मुख्य बजारमा ओहोरदोहोर गर्न समस्या हुँदै आएको छ । ।बर्षाको समयमा जथाभावी भल बग्ने, ढुङ्गा लड्ने कारणले पनि समस्या भइरहेको स्थानीयले बताएका छन् ।