क्युवाबाट जैविक खेती, आत्मनिर्भर अर्थतन्त्र र साम्राज्यवादविरोधी सङ्घर्षबारे सिक्न सकिने

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १३ बैशाख

क्युवाबाट जैविक खेती, आत्मनिर्भर अर्थतन्त्र र साम्राज्यवादविरोधी सङ्घर्षबारे सिक्न सकिने

नेपाल र क्युवाबिच मित्रता जोडिएको ४८ वर्ष भयो । क्युवा क्यारेवियाली खाडीको टापु हो । क्युवा एउटा द्वीपपुञ्ज हो । ‘क्युवाको टापु’ (मुख्य भूमि) लगायत झन्डै ४१९५ स–साना टापुहरू रहेका छन् । क्युवा प्राकृतिक सौन्दर्यले सिङ्गारिएको देश हो । वनस्पति र जीवजन्तुमा संसारकै सबभन्दा सम्पन्न देशहरूमध्ये एउटा क्युवा पनि हो । क्युवाको औपचारिक (सरकारी) भाषा स्पेनियाली हो । क्युवा धर्मनिरपेक्ष एवं धार्मिक स्वतन्त्रता र सहिष्णुता भएको देश हो । क्युवाली संस्कृति स्पेनियाली र अफ्रिकी संस्कृतिको समिश्रणबाट बनेको छ ।

१६ औँ शताब्दीको प्रारम्भतिर नै क्युवामा स्पेनको एकछत्र औपनिवेशिक शासन कायम भयो । क्युवालीहरूले दास बन्नुभन्दा मर्नु नै वेस ठानेर स्पेनियालीहरूको अत्याचार, दमन र शोषणको प्रतिरोध गरे । सन् १५३३ मा क्युवामा पहिलो दास विद्रोह भयो । सन् १८१२ मा नेता जोसे आन्तोनिओ अफोन्तले क्युवामा दास विद्रोहको नेतृत्व गर्नुभयो । स्पेनियाली साम्राज्यवादीहरूले सन् १८८६ मा दास प्रथा उन्मुलनको घोषणा गरे । त्यो झूटो मुक्ति थियो । नेपालमा पनि विसं २०५६ सालमा शासक दलहरूले कमैया मुक्ति घोषणा गरेका थिए । जुन अहिले झूटो साबित भयो ।

सन् १८९० को दशकमा क्युवाका क्रान्तिकारी नेता जोसे मार्टीको नेतृत्वमा क्युवाली क्रान्तिकारी पार्टी स्थापना भयो । स्पेनियाली साम्राज्यवादविरुद्धको सङ्घर्ष सुरु भयो । स्पेनियाली साम्राज्यवादीहरूले घोषणा गरे, “एकजना मात्र विद्रोही बाँकी रहेसम्म मारिनेछन् ।” स्वतन्त्रता सेनानीहरूको जवाफ थियो – “प्रत्येक घरमा चिहान खन्नु परे पनि हर हालतमा क्युवालाई स्वतन्त्र गरी छाड्ने छौँ ।” स्पेनियाली साम्राज्यवादले हवानामा ५० हजार कैदीलाई भोकभोकै मार्‍यो ।

सन् १८६५ अप्रिल ११ का दिन ओरियन्ट प्रान्तमा ४८ वर्षको उमेरमा जोसे मार्टी स्पेनियाली सेनासँग लड्दा लड्दै सहिद हुनुभयो । सन् १८९८ को अप्रिल २० को दिन संरा अमेरिकी संसद्ले क्युवा एक स्वतन्त्र र स्वाधीन राज्य भएको घोषणा ग¥यो । तर, सोही वर्षको डिसेम्बरमा भएको स्पेन र संरा अमेरिकाबिचको सम्झौताले क्युवालाई संरा अमेरिकाको नयाँ उपनिवेश बनायो । यसरी नै फिलिपिन्स, प्युर्टोरिको र गुआम टापुहरू संरा अमेरिकी साम्राज्यले कब्जा गर्‍यो ।

क्युवाली जनताका नेता राष्ट्रपति फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवामा माक्र्स, एँगेल्स, लेनिन, स्तालिनका रचना र अन्य प्रगतिशील साहित्यको अध्ययन तथा छलफल सुरु भयो । संरा अमेरिकाको उपनिवेशबाट मुक्त हुनु क्युवालगायत सम्पूर्ण क्यारेवियाली क्षेत्र र दक्षिण अमेरिकी देशहरूको साझा लक्ष्य थियो । फिडेल क्यास्ट्रो र उहाँका साथीहरूले एउटा जहाज किनेर साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नुभयो । जहाजमाथि प्रतिक्रियावादीहरूको गोलाबारी भएपछि फिडेल क्यास्ट्रो तीन माइल पौडी खेलेर किनारामा पुग्नुभयो । केही वर्षपछि फिडेल क्यास्ट्रो कानुनमा स्नातक भई अधिवक्ता बन्नुभयो । उहाँले राजनीतिक बन्दीहरूको पक्षमा मुद्दा लड्नुभयो ।

सन् १९५२ मा अमेरिकी साम्राज्यवादले फुल्जैनसिओ बातिस्तालाई क्युवाको सत्तामा ल्यायो । बातिस्ताले फिडेल क्यास्ट्रोको उम्मेदवारीलाई जबरजस्ती खारेज गरे । फिडेल क्यास्ट्रो र उहाँको भाइ राउल क्यास्ट्रोले आफ्नो सम्पत्ति बेचेर हातहतियार खरिद गरी सशस्त्र सङ्घर्ष चर्काउनुभयो । फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको क्रान्तिले सन् १९५८ डिसेम्बर ३१ को रात बातिस्तालाई सत्ताच्युट ग¥यो । बातिस्ता रातारात क्युवाबाट भागे । नयाँ वर्ष १९५९ जनवरी १ को बिहानीको उज्यालोसँगै फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवाली जनताको सरकार सुरु भयो । फिडेल क्यास्ट्रोले भन्नुभयो, “क्रान्तिको विजयको अर्थ अन्यायको अन्त्य हो† गरिबी र बेरोजगारीको अन्त्य हो ।” सन् १९६७ मा फिडेल क्यास्ट्रो भन्नुभयो, “क्रान्तिकारी भावना नभएकाहरूलाई कम्युनिस्ट भन्न सकिँदैन । आफ्नो पखेटा र एउटा प्वाँखसम्म नभएकोले आफूलाई बाज भन्न सक्दैन ।” नेपालमा कम्युनिस्ट दाबी गरेका शासक दलहरूको सिद्धान्तहीन गठबन्धनले यही पुष्टि गर्दै छ ।

शासक दलहरू नेपालमा क्रान्ति भएको दाबी गर्छन् । तर, ८० लाखभन्दा बढी युवाहरू १११ देशमा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य छन् । अमेरिकी साम्राज्यवादले क्युवाको समाजवादविरुद्ध ६० वर्षभन्दा अघिदेखि नाकाबन्दी लगाउँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२२ नोभेम्बरसम्म क्युवाविरुद्ध नाकाबन्दी हटाउन ३० पटक प्रस्ताव पारित ग¥यो । तर, नाकाबन्दी हटाउन अमेरिकी साम्राज्यवाद तयार भएन । २४५ वर्षयता अमेरिकी साम्राज्यवाद २२८ ओटा युद्धमा संलग्न भयो ।

दोस्रो विश्वयुद्धदेखि सन् २००१ सम्म अमेरिकी साम्राज्यवाद संसारको ८१ प्रतिशत सैनिक विद्रोहमा संलग्न भयो अर्थात् २४८ वटा सैनिक विद्रोहहरूमध्ये २०१ वटामा अमेरिकी साम्राज्यवाद संलग्न भयो । कोरिया, भियतनाम, खाडी, कोसोभो, अफगानिस्तान, इराक, सिरिया युद्धमा अमेरिकी साम्राज्यवाद सिधै संलग्न भयो । गत वर्ष सुरु गरिएको युक्रेनमा रुसविरुद्धको युद्धमा अमेरिकी साम्राज्यवाद संलग्न भएको पछिल्लो उदाहरण हो । युक्रेन युद्धको कारण संसारमा इन्धन, खाद्यान्न र आर्थिक सङ्कट बढ्यो । हालै अमेरिकी साम्राज्यवाद फिनलैन्डलाई नाटोको ३१ औँ सदस्य बनायो र पूर्वतिर युद्ध फैलाउने तयारी ग¥यो । विश्व शान्तिको लागि अमेरिकी साम्राज्यवाद नेतृत्वको नाटो, अउकस, पाँच आँखा, क्वाड, अन्जुसलगायत सैनिक सङ्गठन खारेज गर्नु जरुरी छ । अमेरिकी साम्राज्यवादले हिन्द–प्रशान्त क्षेत्रमा सैन्य मोर्चा बनाउन एमसीसी सम्झौता अघि बढाउँदै छ । शासक दलहरूले नेपाललाई पनि एमसीसी सम्झौतामा फसाए । वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गराउन हामी सङ्घर्ष गर्दै छौँ ।

२०७२ सालको विनाशकारी भूकम्पको बेला घाइतेको उपचार गर्न र त्यस अगाडि पनि क्युवाली चिकित्सक टोलीले नेपाली जनताको सेवा गरेको ताजा सम्झनामा रहिरहनेछ । समाजवादी क्युवाबाट हामीले जैविक खेती, आत्मनिर्भर अर्थतन्त्र र साम्राज्यवादविरोधी सङ्घर्षबारे सिक्न सक्दछौँ ।

क्युवाली जनताको राष्ट्रियसभाबाट राष्ट्रपति पदमा मिगुएल डियाज क्यानेल बर्मुडेज पुनः निर्वाचित हुनुभएको छ । उहाँको यो दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्दछौँ । उहाँको यो कार्यकालमा नेपाल मजदुर किसान पार्टी र क्युवाली कम्युनिस्ट पार्टीबिचको मैत्रीपूर्ण सम्बन्ध थप बलियो हुने विश्वास गर्दछौँ ।

महामहिम राजदूत महोदयले हाम्रो दुई पार्टी र दुई देशका जनताको सम्बन्ध अझ बलियो बनाउन आवश्यक भूमिका निर्वाह गर्नुहुने विश्वास लिन चाहन्छाँै ।
(नेपाल मजदुर किसान पार्टीको विदेश विभागद्वारा २०८० वैशाख ११ गते आयोजित नेपाल–क्युवा मैत्रीको ४८ वर्ष तथा क्युवाको वर्तमान स्थितिबारे प्रवचन कार्यक्रममा राख्नुभएको मन्तव्यको सार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *