भक्तपुर, १ जेठ

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा बुधबार वृक्षारोपण गरे । भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाई कार्यक्रमअन्तर्गत भक्तपुर नपाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, नपली सृजना सेवा समाजका महिला प्रतिनिधि, विभिन्न विद्यालय, सल्लाघारीका टोलबासीलगायतको सक्रिय सहभागिता उक्त क्षेत्रमा सरसफाइ र वृक्षारोपण भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्रका सरकारी तथा पर्ति जग्गा संरक्षण र सम्बद्र्धनको जिम्मा स्थानीय सरकारको पनि भएको बताए । नेपाल ट्रस्ट र गृहमन्त्रालयसँगको समन्वयमा १०८ रोपनी जग्गा संरक्षण कार्यलाई अगाडि बढाएको बताउनुहुँदै प्रमुख प्रजापतिले यस क्षेत्रको वातावरणलाई स्वच्छ र सफा राख्न वृक्षारोपण कार्यक्रमलाई अगाडि सारेको बताए ।
उनले भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्रको अनुकरण देशका अरु नगरपालिकाहरूले पनि गरिरहेको बताउँदै भक्तपुरका सम्पदा नयाँ पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न नगरपालिकाले कार्य गरिरहेको बताए ।
उक्त जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाएमा सस्तो र गुणस्तरीय चिकित्सा शिक्षासहितको विश्वविद्यालय स्थापना गर्ने उद्देश्य रहेको बताउँदै प्रमुख प्रजापतिले उक्त जग्गा भक्तपुर जनताको अधिकत्तम हितको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरको प्रस्थानबिन्दुको रुपमा १०८ रोपनी जग्गा लामो समयदेखि बेवारिसे अवस्थामा रहेको बताउँदै भक्तपुर नपाले जनताको सल्लाहअनुसार सो क्षेत्रको संरक्षण गर्न पर्खाल निर्माण गरेको बताए । उक्त स्थानको वातावरण स्वच्छ राख्न वृक्षारोपणको आवश्यकता औंल्याउँदै उपप्रमुख जोशीले भक्तपुरको हरेक गतिविधिमा स्थानीय जनताको सक्रिय सहभागिता रहने गरेको बताए ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्थानीय जनताको पहलमा जग्गा संरक्षणको काम भइरहेको जानकारी दिए ।