भक्तपुर,२ जेठ

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ९ च्याम्हासिंहमा छात्ती पुनःस्थापना केन्द्र भवनको बिहीबार एक समारोहबीच शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरमा श्वासप्रश्वास (दम) सम्बन्धी रोगका बिरामीहरुलाई फिजियोथेरापी विधिमार्फत उपचार गर्ने पहिलो छात्ती पुनःस्थापना केन्द्र भक्तपुरमा सञ्चालन हुनु खुसीको विषय भएको बताउँदै यस वर्षभित्र उक्त भवन निर्माण सम्पन्न गरिसक्ने र भक्तपुरको मौलिक शैलीमै भवन बनाउने जानकारी दिए ।

उनले जापान सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त छाती पुनःस्थापना केन्द्रबाट देशभरिका दम रोगीहरुको उपचारमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ख्वपको पहिचान कायम गर्न इमानदारीपूर्वक सेवा भावले काम गर्नुपर्ने बताए ।
देशको सन्तुलित विकास गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिन्दै प्रमुख प्रजापतिले भक्तपुर नगरभित्र उपभोक्ता समितिमार्फत् उल्लेखनीय विकास निर्माणका कार्यहरु भइरहेको बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशलाई अगाडि बढाउन युवा शक्ति स्वस्थ हुनुपर्ने बताउँदै भक्तपुरलाई शिक्षाको केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यका साथ नगरपालिकाले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको र कडा रोग लागेका नगरबासीहरुको लागि रु. १०,००० आर्थिक सहयोग प्रदान गर्दै आएको बताए ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले वडाका गतिविधिहरुबारे प्रस्ट पार्दै जनताको सेवाको निम्ति खोलिने पुनःस्थापना केन्द्रमा जनताको सहयोग पनि आवश्यक भएको बताए । उनले दम रोगको पुनःस्थापना केन्द्र स्थापनाले दम रोगी बिरामीहरुलाई मद्दत पुग्ने बताउँदै स्वस्थ रहन नियमित स्वास्थ्य परीक्षणमा जोड दिनुपर्ने बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर कर्मशील जिल्ला भएको बताउँदै भक्तपुर नपाका जति पनि कार्यक्रमहरु जनमैत्री र जनताको परिचालनमा सम्पन्न भइरहेको बताए ।
सोलिड नेपालका अध्यक्ष डा. खेम कार्कीले भवन निर्माण सम्पन्न भएपछि जिम्टेफको तर्फबाट फिजियोथेरापी विधिमार्फत दम रोगको उपचार गर्न आवश्यक उपकरणहरु जडान गरिने बताउँदै नगरपालिकामार्फत उपलब्ध गराइने चिकित्सक एवम् प्राविधिक जनशक्तिलाई जिम्टेफकै चिकित्सकहरुले उपचारसम्बन्धी तालिम दिएर दम रोगीहरुको उपचारको थालनी गरिने बताए ।
कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्नप्रसाद प्रजापति, सदस्य इन्द्रबहादुर प्याथले पनि बोलेको थियो ।