व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अर्थ/वाणिज्य समाचार स्वास्थ्य

वीरेन्द्रनगर,१ जेठ


महिनाभरी मेहनत गरेर लगाएको खेती तीन महिना खाना पुग्दैन् थियो । आम्दानीको कुनै स्रोत थिएन । गाउँ, घरतिर हातपाखुरा चलाएर मेहनत अनुसारको ज्याला नै नपाउने । घरखर्च चलाउन, पेट पाल्नका लागि भएपनि मुग्लान जानैपर्ने बाध्यता थियो, वीरेन्द्रनगर २ कोलडाँडाका कालिबहादुर अधिकारीलाई ।
उनी १२ महिनामा दुई महिना मात्रै घर आउथे । वर्षमा दशैतिहार आउँदा र असारे खेती लगाउँदा मात्रै उनी घर नजिक हुन्थे । आयआर्जनको स्रोत नभएकाले परिवार पाल्नुपर्ने बाध्यताले गर्दा उनले मजदुरी गर्न भारत जान् पर्ने वध्याता थियो ।

९ जनाको परिवार उनकै भरमा थियो । उनको परिवारमा नत खेतीले पुग्थ्यो, नत भारतबाट कमाएर ल्याएको पैसाले नै । सामान्य जिविकोपार्जनका लागि भएपनि मजदुरी नै उनको विकल्प बनेको थियो । नेपाल–भारत गर्दा गर्दै एक दशक बित्यो । तर, उनको जिवनस्तर बदलिने छाँट देखिएन । ‘परिवार नै ठुलो थियो, एक जनाले मजदुरी गरि कमाएको पैशा कति नै पुग्थ्यो र ?’ उनले भने,‘कमाएर घर पुग्दा भएको पैशा हिसाव गर्दा घरखर्च बुझाउँदैमा पकेट खाली ।’

वीरेन्द्रनगरका केही ठाउँमा व्यवसायिक तरकारी खेती गरेको देख्दा उनलाई पनि तरकारी खेती प्रति मन लाग्यो । तर, एक त उनलाई तरकारी खेती बारेमा जानकारी थिएन । अर्काे खाना नपुग्दा मजदुरी गर्दै आएका उनीसँग व्यवसाय गर्ने पैशा नै थिएन् । आर्थीक अभाबका कारण भारत पस्न बाध्य भएका उनलाई तरकारी खेतीबाट जिवनस्तर नै बदलिन्छ भन्ने पनि लागेको थिएन । उर्जाशील उमेरमा भारतमा व्यतित गरेका उनको मुग्लान पस्नुपर्ने बाध्यता अहिले हटेको छ । अर्गानिक तरकारी खेतीबाटै उनले घरआगनमै मनग्य आम्दानी गर्न सफल भएका छन् ।

उनले २०४५ सालदेखी व्यवसायिक रुपमा अर्गानिक तरकारी खेती गर्न शुरु गरे । हाल करिब १४ कठ्ठा जमिन भाडामा लिएर अर्गानिक तरकारी खेती गरिरहेका छन् । ‘यहि तरकारीले मेरो जीवनस्तर बदलेको छ, पहिले जग्गा पनि थोरै थियो’ उनले भने,‘पहिलो कच्ची घरको बास थियो, यहि तरकारी खेतीबाट पक्की घर निर्माण गरेको छु । भारतको मजदुरी भन्दा तरकारीबाट भएको आम्दानीले सन्तुष्टि मिलेको छ ।’ अर्गानिक तरकारीबाटै कालीबहादुरले वर्षमा पाँच लाख भन्दा बढि कमाउछन् । वर्षमा चारबाली उत्पादन गर्दै आएका उनको हाल ६ जनाको परिवारका लागि रोजगारीको अवसरसमेत बनेको छ । परिवारका सबै सदस्यले तरकारी खेतीमा नै दैनिकी विताउँने गरेका छन् ।

उनको बारीमा आलु, काउली, बन्दा, टमाटर, बोडि, खुर्सानी, कांक्र्रा, साग लगाएतका तरकारी फलेको छ ।
उमेरले उनी ५७ वर्षका भए । करिव बुढेशकाल शुरु भएको छ । तर, व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि यूवाअवस्थाका भन्दा धेरै आम्दानी गर्न थालेका छन् । उनले तरकारीमा विषादि भने प्रयोग गर्दैनन् । ‘औषधीजन्य झारपात तथा पशुहरुको पिसावबाट रोग किरा हटाउने, मलजल गर्ने गरेको छु’ उनले भने,‘ यसले गर्दा किसानलाई पनि फाईदा र तरकारी प्रयोगकर्ताका लागि पनि पोष्ट्रिक छ ।’
उनले अहिलेसम्म कुनैपनि संघसंस्था तथा सरकारी निकायबाट तरकारी खेती सम्बन्धि तालीम लिएका पनि छैनन् । सिकाइ अनुभव नै उनका लागि तालिम र अवसर हो । राज्यले किसानलाई दिने अनुदान पनि उनले पाएका छैनन् । ‘तरकारी खेतीभन्दा पनि समुह र सहकारी दर्ता गरे खेती नगरेपनि अनुदान पाईदो रैछ’ उनले भने,‘तर, समुहको सदस्यता लिनुभन्दा पनि तरकारीलाई धेरै समय लगाए । जसले गर्दा विगतका दुःख हराएका छन् ।’ अनदानका लागी हैन अाफ्नै व्यवसाय गरेको छ’ ।
राज्यले अनुदानको व्यवस्था गरे अझै वार्षीक आम्दानी बढाउने उनको लक्ष्य छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेर समेत तरकारी खेती गर्दै आएका छन् उनले । गरे के हुँदैन र भन्ने गतिलो उदाहरण बनेका छन् । सँधै उजाड देखिने डाँडामा कालीबहादुरकै सिको गरेर धेरैले तरकारी खेती गर्न थालेको छन् । विगतभन्दा अहिले कोलडाडा तरकारी खेतीमय भएको छ । घर–घरमा तरकारी र करेसाबारी छ । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागि समेत कुनै समस्या छैन् । व्यापारि नै खेतीबारीमै पुग्छन् । यदि तरकारी धेरै भएमा वीरेन्द्रनगर–६ मा रहेको तरकारी हाटबजार केन्द्रमा पनि ल्याएर विक्रि गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *