भक्तपुर¸२९ बैशाख
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कमीसन विना काम नगर्ने प्रवृत्ति, व्यक्तिगत स्वार्थ र सबै कुरामा अरुको भर पर्दा देश आर्थिक रुपले अगाडि बढ्न नसकेको विचार राखे।
भक्तपुर नपा वडा नं. ७ को आयोजनामा सम्पन्न वडाको प्रगति विवरण एवम् आगामी योजना सुझाव संकलन तथा प्रबचन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नाराले मात्र देशको विकास नहुने बताउँदै भक्तपुरवासी जनताका राय सुझाव लिएर नगरपालिकाले आगामी वर्षको योजना तर्जुमा गर्दै जाने बताए ।
उनले विद्यार्थीहरुको पहिलो रोजाई निजी विद्यालय भएको हुँदा सामुदायिक विद्यालयको स्तर उठ्न नसकेको बताउँदै भक्तपुर नपाद्वारा सञ्चालित कलेजले देशभरीका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए।
सम्पदा संरक्षणमा विदेशीको दबाब र हस्तक्षेप अस्वीकार्य भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरभित्रका पर्ति जग्गा संरक्षणलाई पनि प्राथमिकताका साथ अगाडि बढाईरहेको बताए।
कर्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले वडामा भइरहेको विकास निर्माणका काम र वडाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउने योजना रहेको बताए।
उनले शरिरको सन्तुलित विकासको निम्ति शारिरीक ब्यायाममा जोड दिनुपर्ने बताउँदै भक्तपुर नपाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न रु ५ लाखसम्म सहुलियत दरमा शैक्षिक ऋणको व्यवस्था गरेको बताए ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडा सदस्यद्वय रञ्जना त्वाती र हरिरत्न गोर्खाली, नेमकिपा ७ नं. वडा एकाई समितिका संयोजक बलराम गोसाईले पनि वडामा भइरहेको विकास निर्माणका गतिविधिबारे प्रष्ट पारे।