सवारी साधन सम्बन्धी सेवा शुरु

अर्थ/वाणिज्य समाचार

सुर्खेत, ५ पुस


सेवाग्राहीले अब सुर्खेतबाटै यातायातका सवारी साधनसम्बन्धी सेवाहरु पाउने भएका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले विहीबार वीरेन्द्रनगरमा नविकरण सेवा उद्घाटन गरे सँगै अब यातायात व्यवस्था कार्यालयबाट सवारी साधन सम्बन्धी कामहरुको थालनी गरिएको हो । यसअघि यातायात व्यवस्था कार्यालयले सेवा विस्तार गर्न नसक्दा सुर्खेत आसपास जिल्लाका सेवाग्राहीले नयाँ गाडी दर्ता, रोड परमिट, नामसारी, लाईसेन्स जारी तथा नवीकरण र सवारी अञ्चलीकरण दर्ता जस्ता कार्यका लागि नेपालगञ्ज र जुम्ला जानु पर्ने बाध्यता व्यहोर्दे आईरहेका थिए ।
सवारी नामसारी गर्न लाग्ने एक सय रुपैयाँको दस्तुर बुझाउन सात सय रुपैयाँ खर्चेर नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । अब कर्णाली प्रदेशका बासिन्दाले सुर्खेतबाटै यातायात क्षेत्रका सवारी साधन सम्बन्धी सेवाहरु लिन बाहिर जानु पर्ने बाध्यता हटेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्रको नविकरण सेवा शुरु भएसँगै सर्वसाधारण हर्षित भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले विहीबार प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्मर खड्काको अनुमति पत्र नविकरण गरेर सेवा उद्घाटन गरेका हुन् । हालसम्म राजस्व संकलनको मात्र काम गर्दै आएको यातायात कार्यालयले अबदेखि सवारी साधन दर्ता, चालक अनुमति पत्र वितरण, नविकरण, परीक्षा सञ्चालन समेत गर्नेछ । नविकरण सेवा शुरु भएपनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ । कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी भएपनि हाल आधा दर्जन मात्र जनशक्तिले सेवा पु¥याई रहेका छन् । नविकरण सेवा उद्घानपछि बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा दिनका लागि प्रदेश सरकार लागेको बताए । उनले सेवालाई निरन्तर र जनमुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *