फिरी लगाउने परम्परा लोप हुँदै

कला/साहित्य विशेष समाचार समाचार

बेत्रावती, २७ कात्तिक

परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हुँदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नया“ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।

जरायोको सिङबाट बनेको लोकबाजा फिरी बजाएर पेशालाई निरन्तरदा दिँदै आएका योगीनाथ आफ्नो भक्तका घरमा आउन नै छाडेको किस्पाङ गाउँपालिका–२ फिकुरीका वडाध्यक्ष देवनाथ भट्टले बताए ।

उनको अनुसार पुर्ख्यौली सम्पत्तिजस्तै गरी भक्तका घरलाई योगीका सन्ततिले भाग लगाएर कात्तिक र चैत महीनामा घरघरमा पुगी सह जगाउने परम्परा भए पनि अहिले धेरै स्थानमा योगीले फिरी लगाउन जान छाडिसकेका छन् ।

गोरखनाथका भक्तका रुपमा चिनिने योगीले मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने विश्वास छ । अहिलेका पुस्ता योगी बन्न कान छेडेर कानफटा लगाउन रुचि नदिनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति हराउँदै गएको लिखु गाउँपालिका–१ का ६९ वर्षीय दुर्गानाथ योगीले बताए ।

“परम्परालाई निरन्तरता दिन गाह्रो भइसक्यो ।” उनले भने, “घर धेरै छन्, पूरा मन्त्र पढ्न र दान थाप्न नै भ्याइन्न, सन्तानले पनि सहयोग गर्दैनन् ।” अघिल्लो रात फिरी लगाउने र भोलिपल्ट दान थाप्दै हिँड्ने योगीलाई भक्तले घरमा सह जाग्ने, भूतप्रेत तथा पिचासले दुःख नदिने विश्वासमा दान दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *