तिहार नजिकिँदा प्रजापति समुदायलाई भ्याइनभ्याइ

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, १७ कात्तिक


हिन्दुको दोश्रो महान् चाँड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाल समुदायका प्रजापतिहरुलाई यतिखेर भ्याइनभ्याइ छ ।

मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटरीस्क्वायर, च्याम्हासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याइ भएको हो ।

माटोको अभाव भएको र तिहारमा मात्रै पाला, धुपौरालगायतका माग बढ्ने, अरु बेलामा माटोको भाडाका माग कम हुने भएपछि यो पेशाबाट विस्थापित हुन थालेपछि माटोका भाडा उत्पादनसमेत कम भएको छ ।

माटोको भाडा बनाउने यो पेशाबाट विस्थापित हुन थालेपछि यस वर्ष तिहारका लागि मागअनुसारका पाला तथा धुपौरो बनाउन नसकिएको प्रजापतिहरु बताउँछन् । यस वर्ष पाला बनाउँने प्रजापतिको सङ्ख्या घटेपछि पेशा अङ्गाल्दै आएकालाई भने पाला बनाउन भ्याइनभ्याइ भएको हो ।

तिहार नजिकिँदै गएको र अडरअनुसारका पाला, धुपौरो दही राख्ने ठेकी बनाउँन पनि भ्याइनभ्याइ भएको भक्तपुर नगरपालिका १२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताए । गत वर्ष ६० हजार पाला बिक्री गरेको बताउँदै उनले भने, “धेरै मानिस यो पेशाबाट विस्थापित भएका छन्, पालाको माग बढेको छ, तर उत्पादन कम छ, मेरो छ जनाको परिवार अहिले बिहानदेखि बेलुकासम्मै खटिने गरेका छौं ।”

पाला बनाउँदै आएका न्हुच्छेकुमार प्रजापतिले परिवारमा नौ जना भए पनि अन्य पेशामा लागेकाले आफू एक्लैले यो पेशालाई निरन्तरता दिएको बताए । पालाको माग बढेपनि माटोको अभाव र काम गर्ने मान्छेहरु नहुँदा मागअनुसारका उत्पादन हुन नसकेको बताउँदै उनले यस वर्ष माग र मूल्य दुवै बढेको बताए ।

माटोका भाडा बनाउने आधुनिक मेशिनमा एक छिन हात खाली नराखी पाला बनाउन व्यस्त स्थानीय ४२ वर्षका कृष्ण प्रजापति एक दिनमा एक हजार ५०० देखि दुई हजार वटासम्म पाला बनाउने गरेको बताउँछन् । भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारसमेत बढेकाले कुमाल समुदायलाई पाला बनाउँन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुर थिमिका रुजेन प्रजापतिले बताए ।

 

काठमाडौं, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रेलगायतका विभिन्न जिल्लाबाट अर्डर भएका पालालगायतका सामान बनाउन भ्याइनभ्याइ भएको उनीहरु बताउँछन् । तिहार सकिएपछि अलि फुर्सद होला, नत्र यत्तिकै हो भन्ने कुमालले काम गर्न समेत भागवण्डा लगाउने गरेका छन् ।

घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाडा बनाउन, भाडा पोल्नेलगायतका काम गर्छन् भने महिलाहरु भने भाडा सुकाउने, भाडामा रङ्ग लगाउने र भाडाको व्यवस्थापन गर्न मै व्यस्त छन् । तिहारमा कुमाल समुदायका एक परिवारमा कम्तीमा ७५ हजारदेखि बढीमा पाँच लाखसम्मको पाला बिक्री हुने गरेको कुमाल समुदायको भनाइ छ । मूल्य बढेपछि यस वर्ष एक सय वटा पालाको मूल्य रु २०० देखि रु २५० सम्म र रु तीनसम्ममा खुद्रामा बिक्री गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *