चौरजहारीमा डेढ वर्षमा पुग्यो जहाज

अर्थ/वाणिज्य समाचार

रुकुम, ७ कात्तिक


रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरू भएको छ । डेढवर्षदेखि उडान सेवा रोकिएको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधवारदेखि उडान शुरू गरेको हो । हप्ताको दुईदिन बुधवार र बिहीवार उडान हुने चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताएका छन् । उनले भने, ‘बुधवार काठमाडौं–चौरजहारी–नेपालगञ्ज तथा बिहीवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान हुनेछ ।
उडान शुरू भएको बुधवार पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठजनाले नेपालगञ्जसम्मको हवाई यात्रा गरेका छन् । झण्डै डेढवर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय खुशी भएका छन् ।
विमानस्थल सुचारु भएसँगै रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई पनि सहज हुने भएको छ । बुधवारदेखि नेपाल वायुसेवा निगमको जहाजले पुनः उडान शुरू गरेसँगै यहाँको नयाँ भाडादर कायम गरिएको छ । अबदेखि चौरजहारीबाट काठमाडौंका लागि ८ हजार र नेपालगञ्जलाई ३ हजार रुपैयाँ भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिएका छन् ।
यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गतवर्षको जेठ अन्तिम सातादेखि चौरजहारी विमानस्थलको उडान बन्द गरिएको थियो । बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल चाल्दै आएका थिए ।
२०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतिका लागि पाँचवर्ष अघि धावनमार्गमा कालोपत्र गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *