प्यूठान, ७ कात्तिक
प्यूठानमा पछिल्लो समय जिल्लामा मौरी चरन गर्न आउने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ भने प्यूठान जिल्ला मौरी चरनको पकेट क्षेत्रको रूपमा विकास हुँदै गएको छ । जिल्लामा मौरी चरनको लागि आवश्यक पर्ने वनस्पतिहरू पर्याप्त रहेकाले जिल्ला बाहिरबाट मौरी चराउन ल्याउने किसानको सङ्ख्या बढेको हो । मौरीका लागि आवश्यक पर्ने आहारका लागि प्रशस्त मात्रामा फूल फुल्ने वनस्पति आवश्यक पर्ने र त्यसका लागि प्यूठान उपयुक्त ठाउँ भएकाले किसानले जिल्लाको विभिन्न क्षेत्रमा ल्याउने गरेका हुन् । जिल्लामा मौरी चराउनका लागि देशका चितवन, दाङ, सर्लाही र बारालगायतका विभिन्न जिल्लाबाट ल्याउने गरेका छन् । कात्तिक मङ्सिरमा फूल फुल्ने वनस्पती चिउरी, तोरीलगायतका वनस्पती प्रशस्तमात्रामा पाइने भएकाले प्यूठानमा देशका विभिन्न जिल्लाबाट बर्षेनी मौरी चराउन ल्याउने गरेको स्वर्गद्वारी नगरपालिका ४ गोठीबाङ फाँटका स्थानीयवासी तुलबहादुर खड्का क्षेत्रीले बताए । उनले भने, ‘मौरी चराउनका अहिले गोठीबाङ फाँटमा सर्लाही र बाराबाट विगत ७ वर्षदेखि ल्याउँदै आएका छन् ।’
हरेक वर्ष मौरीपालक किसानले डेढदेखि २ महीनासम्म जग्गा भाडामा ल्याई मौरी चराउँदै आएको सर्लाहीका कृषक हेमराज देवकोटाले बताए । ‘हामीले यहाँ प्रत्येक वर्ष मौरी चराउन ल्याउँछौं,’ उनले भने, ‘अहिले १ सय ६० घार मौरी ल्याएका छौं ।’ मौरी चराउनका लागि स्थानीयवासीसँग २ महीना जग्गा भाडामा लिएको बताए । व्यवसायीले एक सिजनमा ३ देखि ४ पटकसम्म मह निकाल्ने गरेका छन् भने यो सिजनमा एक व्यवसायीले ३५ देखि ४० क्विण्टल मह उत्पादन गर्ने सर्लाहीका मौरीपालक कृषक हेमराज देवकोटाले बताए ।
२०६८ सालदेखि आफूले प्यूठानमा मौरी चराउन ल्याएको उनले बताए ।
टिकुरीका किसान मौरीपालनतर्फ आकर्षित
जिल्लाको प्यूठान नगरपालिका–७ का किसान मौरी पालन व्यवसायप्रति आकर्षित बन्दै गएका छन् । जिल्लामा मौरी चरनका लागि आवश्यक पर्ने वनस्पती चिउरी, धाइरो तथा तोरी, चौतारीको फूललगायतका वनस्पती प्रशस्त मात्रामा पाइने भएकाले यहाँका किसान मौरीपालन व्यवसायमा आकर्षित भएका हुन् ।
जिल्लामा महको माग बढेको र आम्दानी पनि राम्रो हुने भएकाले यस क्षेत्रका किसान मौरीपालन व्यवसायमा लागेका हुन्् ।
मौरीपालन व्यवसाय कम झन्झटिलो तथा मनग्य आम्दानी हुने भएकाले यस व्यवसायमा आकर्षित भएको पोख्रेल मौरी पालन तथा मह उत्पादन केन्द्र प्यूठान नगरपालिका ७ टिकुरीका सञ्चालक डिमराज पोख्रेलले बताए । उनले भने, ‘प्यूठान जिल्ला मौरीपालन व्यवसायका लागि राम्रो वातावरण भएकाले टिकुरीका किसान यस व्यवसायमा लागेका छन् ।’
जिल्लामा सेहाना र मेलिफेरा गरी दुई प्रजातिका मौरीपालन गर्दैै आएको छ । जिल्लामा ३५ देखि ४० टन मह उत्पादन हुने गरेको छ ।