भूकम्पपछि १ हजार ४ सय घर निर्माण

अर्थ/वाणिज्य विशेष समाचार समाचार

पर्वत, ७ कात्तिक


पर्वतमा भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत एक हजार ४ सय घर निर्माण भएका छन् । विभिन्न खालका प्राविधिक झन्झटले पुनर्निर्माण सुस्त रहेको देखिन्छ । भूकम्प पीडितको लगत सङ्कलन, सूचिकृतमा भएको बिबाद, मापदण्ड, प्राविधिकको अभाव, दक्ष डकर्मीको अभाव, आर्थिक अभाव र जनशक्तिको अभावले अपेक्षाअनुसार घर निर्माण नभएको हो । भूकम्पबाट जिल्लामा पाँच हजार २ सय ६९ घर पूर्ण क्षति भएको तथ्याङ्क छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार घर निर्माण गरिसकेका एक हजार ४ सय लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम बुझिसकेका छन् । पहिलो किस्ताको रकम लगेका तीन हजार ४ सय ९ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् ।
पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार ८ सय ९ जनाले पहिलो किस्ताबापतको रकम रू. ५० हजार बुझिसकेका छन् भने ४ सय ६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैैनन् । लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम रू. २४ करोड ४ लाख ५० हजार भुक्तानी गरिसकिएको छ भने दोस्रो किस्ताबापतको रकम रू. २१ करोड घर बनाएकाले भुक्तानी लगिसकेको पर्वतले बताएको छ । आयोजना कार्यान्वयन इकाई प्रमुख जगदिश शर्माले पुनर्निर्माण सन्तोषजनक नरहेको बताए । ‘जे अपेक्षा गरिएको थियो त्यसअनुसार काम भइरहेको छैन,’ उनले भने, ‘पछिल्लो समय पुनर्निर्माणले केही गति लिएको छ ।’ असार र साउन महीनामा कामै हुन नसकेको उनले बताए । हिउँदको महीनाभरी पुनर्निर्माण तीव्र गतिमा हुने उनले बताए ।
इकाई प्रमुख शर्माका अनुसार पर्वतमा तेस्रो किस्ताको रकम भने अझैसम्म कसैले पनि माग गरेका छैनन् । पहिलो किस्ता लगेर पनि कतिपयले घर नै निर्माण गरेका छैनन् । पहिलो किस्ता लगेर घर नबनाएका लाभग्राहीलाई रकम फिर्ता गर्न ताकेता गरिएको छ । शर्माले भने, ‘घर बनाउन नचाहनेका लागि सार्वजनिक सूचना जारी गरेरै रकम फिर्ता गर्न ताकेता गरेका छौं ।’ भदौ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समितिको बैठकले पहिलो किस्ता लगेर पनि घर नबनाएका लाभग्राहीको रकम फिर्ता गर्नुपर्ने नियम बनाएको थियो ।
जिल्लामा तेस्रो किस्ताको रकमका लागि माग भई आएमा तत्काल दिन सकिने अवस्था रहेको छ । आगामी वैशाखसम्म रकम फिर्ता नगर्नेका लागि सरकारी बाँकी सरह असुल उपर गर्ने शर्माले जानकारी दिए । अहिलेसम्मको पुनर्निर्माणको अवस्था हेर्दा पर्वतमा वास्तविक पीडित झण्डै दुई हजार मात्रै भएको अनुमान छ । घर सम्पन्न भएको प्राविधिकको सिफारिशको आधारमा स्थानीय तहले निवेदन दिएमा तेस्रो किस्ताको रकम भुक्तानी गर्ने प्रावधान रहेको छ । त्यसैगरी पर्वतमा ४ हजार २ सय जनाले गुनासो फारम भरेका थिए । तीमध्ये झण्डै दुई हजार ८ सय जनाको अनुदानका लागि कार्यालयले सिफारिश गरेको कार्यालयका सूचना अधिकारी बालकृष्ण शर्माले जानकारी दिए ।
भूकम्पका कारण यसअघि नै आंशिक क्षतिमा परेका ४ सय १७ जनामध्ये १ सय २० जनासँग अनुदान सम्झौता भइसकेको छ । आंशिक क्षतिमा परेका २ सय ९७ जना भने सम्झौताका लागि समेत आइनपुगेको कार्यालयले जानकारी दिएको छ । आंशिक क्षतिमा परेकाले दुई किस्तामा गरी रू १ लाख पाउनेछन् । शुरूमा रू. ५० हजार र घर मर्मत गरिसकेपछि रू. ५० हजार भुक्तानी पाउने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *