चिनीको अभाव भयो भनेर समाचार लेख्नेलाई बोराका बोरा जीउमा हालेर पठाइदिन्छौंः मन्त्री यादव

राजनीति विशेष समाचार समाचार

काठमाडौं, २१ असोज


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् । उनले भने, ‘बजारमा चिनीको कुनै अभाव छैन । र, बजार भाउ पनि बढेको छैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री यादवले पत्रकारहरुले चिनीको अभाव भयो भनेर समाचार लेखेकोप्रति कडा आपत्ति जनाए । उनले आक्रोश पोख्दै भने, ‘चिनीको अभाव छ भनेर समाचार लेख्नेलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाइदिन्छौं । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन ।’
यादवले बजारमा कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलई आग्रह गरे । उनले भने, ‘हामी अहिले अनुगमन गरिरहेका छौं । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ । हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होईन, पुरै देशमा बजार अनुगमन गर्छौं ।’ यद्यपि, उनले भन्ने बित्तिकै छु मन्तर नहुने स्पष्ट पारे । यादवले भने, ‘विगतमा सरकार थिएन, तर अहिले हामी बजारमा पुगिरहेका छौं । बजार अनुगमन गर्न हाम्रो निरन्तर प्रयास छ ।’
उनले आफूले अहिले आपूर्ति सहज गर्ने, बजार भाउ नियन्त्रण गर्ने र कालोबजारी हटाउन कोशिस गरिरहेको सुनाए । त्यस्तै उनले चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भनेर आरोप लगाउँदै हल्ला भएको सुनाउँदै भने, ‘अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रकबिना त्यत्रो पैसा चल्दैन । जीपमा बोकेर हुँदैन । एउटा ट्रकले मात्रै पनि हुँदैन । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ । अर्बौंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि । यसमा निश्पक्ष छानबिन हुनुपर्याे भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु ।’
उनले पत्रकारलाई न्यूज लेख्दा आफ्नो भ्यूज नघुसाउन समेत आग्रह गरे । यादवले भने, ‘या त प्रमाणित गर्नुपर्याे । या त जसले भ्रष्टाचार गर्छ, उ जेल जान्छ । आफ्नो कुरा लेख्नै मन लागे आर्टिकल लेखे हुन्छ । भ्रष्टाचार गर्यो भनेर ठूलो ब्यानर बनाएर न्यूज लेख्छ, तर त्यही न्यूजको खण्डन पठायो भने कुनामा यत्रो सानो अक्षरमा लेख्छ । मातृका आएपछि खानी बेच्यो भनेर समाचार लेख्यो । तर मातृकाले कुनै खानी बेचेको छैन । त्यो समाचार लेख्ने नै अपराधी हो । या त त्यसले कसैको पैसा खाएर लेखेको हो ।’
त्यस्तै उनले फरक प्रसँगमा चिनीको मूल्य सार्वजनिक लेखा समितिले निर्धारण गरेको विषयप्रति टिप्पणी गर्दै भने, ‘यो सार्वजनिक लेखा समितिको अधिकार कतिको हो ? मलाई थाहा छैन । लेखा समितिले सबै वस्तुको भाउ लेखेर दिए हामीलाई धेरै मेहनत गर्नुपर्ने थिएन । यो रेटमा बेच्नुहोला भनेर हामी माइकीङ गराउँछौं ।’
यादवले संविधान, कानून र ऐनले दिएको अधिकार सबैले प्रयोग गर्नुपर्ने सुझाए । यद्यपि, उनले आफू र समितिबीच कुनै झगडा नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘समितिले हाम्रो मन्त्रालयलाई सहयोग गरिरहेको छ ।’ ६३ रुपैयाँमै चिनी पाए त उपभोक्ताको लागि खुशीको विषय हुने उनले बताए ।
जनताका चाहना पूरा गर्न सरकार सचेत रहेको उनले स्पष्ट पारे । नेपालमा चिनी उत्पादन १ लाख ८० हजार मेट्रिक टन रहेको र अहिले आवश्यकता २ लाख ३० हजार मेट्रिक रहेको पनि यादवले बताए । उनले भने, ‘चिनीका मालिकले उखु किसानका पैसा दिएका थिएनन् । तर, म आएपछि अहिले दिन थालेका छन् । सुरुमा मैले पनि हात जोडेर किसानलाई पैसा दिन आग्रह गर्दा दिएनन् । तर, अलिक कडा रुपमा प्रस्तुत हुँदा दिए । अझै सबा अर्ब जति पैसा किसानलाई दिन बाँकी नै छ ।’
देशको अर्थतन्त्रलाई मजबूद बनाउनको लागि आफ्नो उत्पादनलाई सुरक्षित गर्नुपर्ने मन्त्री यादवको भनाइ छ । उनले भने, ‘मागेर खाएर अर्थतन्त्र मजबूद हुँदैन ।’ चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मूल्य वृद्धि गरेको थाहा पाए तुरुन्त आफूलाई सम्पर्क गर्न आग्रह गर्दै डिजी योगेन्द्र गौचनको मोवाईल नम्बर ९८२३–२३७५८८ पत्रकारलाई टिपाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *