६३औं प्रहरी दिवसका अवसरमा रनिङ कप भलिबल प्रतियोगिता

खेलकूद विशेष समाचार समाचार

काठमाडौं, २१ असोज


६३औं प्रहरी दिवस २०७५ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७५ सम्पन्न भएको छ।
प्रतियोगिता समापनका अवसरमा आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई रनिङ शील्ड, पदक, प्रमाण पत्र र पुरस्कार तथा सहभागी टिमलाई मायाको चिनोसमेत प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेल जीवनको अभिन्न अंग रहेको बताउँदै खेलको माध्यमबाट सामूहिक भावना विकास हुने र उल्लासपूर्ण वातावरण सृजना भई प्रहरी संगठनको लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने चर्चा गरे ।खेलकूदलाई थप विकास गर्न संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले ७ वटै प्रदेशमा खेलकूद टीमको निर्माण गर्नुपर्ने बताए ।
प्रहरीले गरेको राम्रो कामबाट नागरिक खुशी भए प्रहरी पनि खुशी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि सत्य, सेवा, सुरक्षणमको मूलमन्त्रलाई आत्मसात गरी काम गर्नुपर्ने बताए । नेतृत्वले तय गरेको नीति पछ्याउँदै प्रहरी कर्मचारीले इमानदारी, निष्ठापूर्वक र दृढतापूर्वक नागरिकमैत्री काम गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य(सचिव प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले द्धितीय हुने टिमका खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । साथै उन्ले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलको माध्यमबाट आपसी भाइचाराको विकास भई शारीरिक एवं मानसिक रुपमा सबल र सक्षम बन्न सहयोग मिल्ने बताए ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरन रमण शर्माले रेफ्रीहरुलाई प्रशंसापत्र वितरण गर्नुको साथै नेपाल प्रहरी खेलकूद समितिलाई ७ वटा बल हस्तान्तरण गरेको थियो ।
कार्यक्रमको सुरुमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक खनालले खेलका रेफ्री बिजय केसीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्‍घाटन गरेको थियो । उक्त प्रतियोगिता अन्तर्गत ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय टीम विजय भएको हो । असोज १७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार र ३५ हजार तथा शील्ड, पदक, प्रमाणपत्र एवं सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार र अन्य ५ विधामा उत्कृष्ट ५ खेलाडीलाई जनही नगद ७ हजार ५ सय प्रदान गरिएको थियो ।
सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले प्रतियोगितासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *