प्रहरी समाचार

समाचार

वडा दशैं तथा दिपावलीको अवसरमा महानगरीय प्रहरी परिसर काठमाडौंको सुरक्षा योजना

काठमाडौं , १४ असोज

महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंले नेपालीहरूको महान् चाड दशैं, तिहार र छठको अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउन लक्ष्य सहितको सुरक्षा सम्बन्धी योजना आइतबार पत्रकार सम्मेलनको आयोजन गरी सार्वजनिक गरेको छ ।

चाड पर्वको अवसरमा हुन सक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा बिक्री बितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसा लगायतका आपराधिक कृयाकलापहरु नियन्त्रणमा राख्न  सादा पोशकमा समेत गरी कूल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको उक्त अवसरमा जानकारी गराइयो ।

सर्वसाधारणको घर सम्पत्ती रहेको स्थान, महत्वपुर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा रहेको स्थान, बित्तिय संस्था एवं आर्थिक कारोबार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, ब्यापारिक कारोबार हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ती रहेका स्थान, काठमाडौं प्रवेश गर्ने नाकाहरु, होटेल, गेष्ट हाउस तथा रेष्ट्रुरेन्ट, अपराधिक गतिबिधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा बिशिष्ट ब्यक्तिको गतिविधि हुने स्थानहरुमा उक्त सुरक्षाकर्मीहरु परिचालन हुने महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

जनमानसमा सुरक्षकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने तथा प्राप्त साधन स्रोतको दुरुस्त तथा प्रभावकारी परिचालन गर्ने उद्देश्य रहेको सोही परिसरले जनाएको छ ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं , १४ असोज

काठमाडौं, झापा, रुपन्देही, बाँके र मकवानपुरबाट अवैध लागूऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई कतार लैजान लागेको लागूऔषध गाँजा ३ सय २६.४ ग्राम सहित सिराहा कल्याणपुर नगरपालिका-१२ का २२ वर्षीय मोहमद कलामुद्दिन साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बङलादेशको बिजि ०७२ को उडानद्वारा ढाका हुँदै कतार जान लागेका साहलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

झापा बिर्तामोड नगरपालिका-७ का २१ वर्षीय अनिष उप्रेती र बिर्तामोड नगरपालिका-३ का २४ वर्षीय डल्लु भन्ने आकाश राईलाई लागूऔषध खैरो हेरोईन ४ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ भद्रपुरबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका-१३ हाटबजारबाट भारत महाराजगंज थाना सुनौलीग्राम सुनौली भारत बस्ने २६ वर्षीय अर्जुन मल्लाह र भारत महाराजगंज गोपालग्राम थाना गौरदुबे बस्ने ३० वर्षीय सुनिल हरिजनलाई नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, नुर्फिन २ सय  एम्पुल र नाईट्रोसन ५० ट्याब्लेट सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो  शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बाँके कोहलपुर नगरपालिका-१० बस्ने १५ वर्षीय प्रकाश मल्ल र १५ वर्षीय यज्ञ राज शाहीलाई नियन्त्रित मनोद्धिपक पदार्थ नाईट्रोभेट ३० ट्याब्लेट सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने २९ वर्षीय अर्जिलाल प्रजालाई लागूऔषध गाँजा १० के.जी.सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।  हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा नारायणगढबाट हेटौडातर्फ आउँदै गरेको ना.५ ख ९३०५ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा बसमा सवार प्रजालाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

आगलागीबाट धनमाल क्षति

काठमाडौं , १४ असोज

पर्सा र बारामा आइतबार भएको छुटाछुट्टै आगलागीबाट करीब १८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

पर्सा वीरगंज महानगरपालिका-१३ पावर हाउस चोकस्थित बन्द रहको मेघा उलन मिलको कम्पाउण्ड भित्र पोलमा रहेको नेपाल बिद्युत प्राधिकरणको २ सय के.बि.को ट्रान्सफर्मरमा आगलागी हुँदा ट्रान्सफर्मर पुर्णरुपमा जलेर करीब  ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

बारा जितपुर सिमरा उपमहानगरपालिका-८ इमलीपट्टीमा रहेको राजेश मेटल क्रष प्रा.लि.को स्टोर रुममा बिजुली सर्ट भई आगलागी हुँदा करीब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

डुबेर मृत्यु

काठमाडौं , १४ असोज

रुपन्देही र सप्तरीमा आइतबार डुबेर २ जनाको  मृत्यु भएको छ ।

रुपन्देही सुद्धोधन गाउँपालिका-१ सिसै बस्ने २५ वर्षीय मणिराम चौधरीको डुबेर मृत्यु भएको हो । सोही स्थानमा रहेको सडकको छेउमा पानी जमेको खाल्डोमा डुबेर मृत भएको अवस्थामा उनलाई फेला परिएको हो ।

सप्तरी कंचनरुप नगरपालिका-१ स्थित रहेको पोखरीमा डुबेर भारत सुपोल जिल्ला कुनौलीग्राम पंचायत १८ बथनाह बस्ने अशोक मण्डलको छोरा २ वर्षीय अर्जुन मण्डलको मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतः केन्द्रीय प्रहरी समाचार कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *