भक्तपुर, १३ असोज
नेपालभाषा साहित्य तःमुँज्यालाई सफल र प्रभावकारी बनाउन पूर्व तयारी स्वरुप शुक्रवार वागीश्वरी कलेजमा चिमुँज्या गोष्ठी गरेको छ ।
गाष्ठीमा साहित्यकारहरुले समाजवादी चिन्तनलाई अगाडि बढाउन विभिन्न किसिमका साहित्यिक विधाहरु कथा, कविता, गजल वाचन गरेका थिए ।
साहित्यको वाचनसँगै गाष्ठीमा समीक्षासमेत भएको उक्त कार्यक्रममा विष्णुगोपाल कुसीले नियमित रुपमा गरिने साहित्य गोष्ठीले साहित्य परिष्कृत, परिमार्जित हुने र वास्तविक साहित्यकारहरु जन्मिने बताएका छन् । उनले जनताको भावना र जनजिव्रोअनुसार शब्दको छनोट गर्नुपर्ने बताए । बगिरहेको पानी बासी नभएजस्तै नियमित रुपमा कलम चलाउने साहित्यकारहरु स्थापित साहित्यकार बन्नसक्ने उनी बताउँछन् ।
साहित्यिक उपसमितिका संयोजक अमोद उलकले नेपाल भाषा र साहित्यको विकासका लागि अग्रजबाट सिक्नुपर्ने बताए । ३८ औं नेपाल भाषा साहित्य तःमुँज्याका अध्यक्ष नरेश खत्रीले अबको कात्तिक ४ र ५ गते हुने वृहत साहित्य सम्मेलनका लागि सबैपक्षबाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा विविध विधाका साहित्यकारहरु रवीन्द्र न्हेमाफुकी, हरिसुन्दर पोतामाहां, पृथ्वीकुमार प्रजापति, रामगोपाल बमनू, भक्तलक्ष्मी भासिमा, हरिसुन्दर छुकां, काशिराम विरस, एल के सुन्दर गंगाराम ज्याख्व, कृतिका प्रजापति, रामकृष्ण प्रजापति, प्रेम प्रजापतिलगायतको सहभागिता रहेको थियो ।