कला, संस्कृति र सम्पदा संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित

कला/साहित्य समाचार
भक्तपुर, १६ असार
भक्तपुर नगरपालिकाको पाँचौं नगरसभाको आइतबार बसेको नगरसभाको बैठकले कला–संस्कृति र सम्पदा संरक्षण एवम् सम्बद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र भक्तपुर नगरपालिका सवारी दर्ता तथा सञ्चालन गर्न बनेको विधेयक २०७६ माथि छलफलपश्चात पारित गर्यो ।
कला संस्कृति र सम्पदा संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्राचीन सम्पदाहरु बिगार्ने, नास्ने, क्षति पुर्याउने लगायतका कार्य गर्ने व्यक्ति वा संस्थालाई प्राचीन स्मारक संरक्षण ऐनअनुसार सजाय हुने, भक्तपुर नगर क्षेत्रभित्र वा नगरको निश्चित क्षेत्रभित्र सवारी आवागमन निश्चित सीमा र समय तोकी निषेध गर्नेलगायतका प्रावधानहरु रहेका छन् ।
भक्तपुर नगरपालिका सवारी दर्ता तथा सञ्चालन गर्न बनेको विधेयक २०७६ मा दर्ता भएका सवारीसाधन नगरपालिकाले आफ्नै प्रयोजनमा वा नगरबासीको सेवा सुविधाको लागि प्रयोग गरिने, विदेशबाट आयात गरी ल्याएका सवारीसाधनको नाम, बनेको साल र आयात गर्ने देशको कम्पनीको नाम, भन्सार महसुल तिरेको रसिद संलग्न गरी दर्ता गर्नुपर्नेलगायतका व्यवस्थाहरु रहेका छन् ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न बैठकको विशेष समयमा सभासद्हरु सूर्यप्रसाद श्रेष्ठ, श्यामसुन्दर मातां, राजकुमार शिल्पकार, राजेन्द्र माक, बलराम न्हिसुतु, गोविन्द दुवाल, हरिरत्न गोर्खाली, इन्द्रबहादुर प्याथ र विजयालक्ष्मी शाक्यले हनुमन्त्ते खोला छेउमा पीआइडीले बिछ्याएको ढलको पाइप खोलामा समेत परेकोले यसको अनुगमन गरी व्यवस्थित गराउनुपर्ने, पर्ति जग्गा र खुला ठाउँ मिच्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने, नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने, जनस्वास्थ्य केन्द्रमा विषयगत डाक्टरको व्यवस्था गर्नुपर्ने र टिकटको लागि कुपनको व्यवस्था मिलाउनुपर्ने, नयाँ बस्तीमा कर फोहर संकलनको लागि ट्राइसाइकलको व्यवस्था गर्नुपर्ने, भक्तपुर दरबार क्षेत्रमा अवस्थित कला संग्रहालयको पुनःनिर्माण शीघ्र गर्नुपर्नेलगायतका सुझावहरु राखेको थियो ।
सभामा सभासद्हरुद्वारा प्रस्तुत जिज्ञासाहरुमाथि सम्बन्धित विभिन्न समितिका संयोजकहरुले उठेका जिज्ञासामाथि प्रस्ट पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *