भक्तपुर, ११ असोज
भक्तपुरको दरबार स्क्वायरमा स्थानीय सांस्कृतिक झाँकीसहित उनान्चालिसौं विश्व पर्यटन दिवस मनाएको छ । उक्त कार्यक्रममा भाद्र ११ गतेको गाईजात्राको अवसरमा निकालिएका सांस्कृतिक विधाहरु तथा राष्ट्रिय बाल दिवसको अवसरमा भएको विद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले पुरस्कृत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिबाट प्रत्येक वडाबाट दुई दुई जना गरी १० वटै वडाबाट २० जना सांस्कृतिक गुरुहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापतित्व ग्रहण गर्दै विश्वसम्पदामा सूचीकृत भक्तपुर विश्वको सम्पति भएको स्मरण गर्दै पर्यटकको आकर्षण भक्तपुर बनाउन सम्पदाको संरक्षण गरी जोगाइराख्नुपर्ने धारणा राखेका छन् । उनले भक्तपुरका हरेक सम्पदा मौलिक स्वरुपमा निर्माण गर्न जनसहभागिता जुटाएर काम गरिरहेको बताए । साथै नगरपालिकाको हिसाब किताबमा देशकै नमूनाको रुपमा पारदर्शिता रहेको स्पष्ट पारे ।
भनपा–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले भाद्र ११ गते सापारुको दिनमा ल्याएका ५५ वटा घिन्टाङ्घिसी, भाद्र १३ देखि १७ गतेसम्म देखएका १७ वटा विभिन्न परम्परागत विधा, आधुनिक विधाका ६ वटा र लोपोन्मुख विधा १४ वटाको निर्णायकबाट भएको मूल्यांकन बताएका थिए । उनले भक्तपुर नगरपालिकाबाट यसवर्ष गाईजात्रा अवधिभरका सम्पूर्ण विधाहरुका निम्ति १० लाख २१ हजार तीन सयबराबरको पुरस्कार प्रोत्साहनस्वरुप प्रदान गरेको बताए । नगरपालिकाले बाल दिवसको अवसरमा भएको चित्रकता प्रतियोगिताका पुरस्कृत विद्यार्थीहरुका लागि ४१ हजार तीन सय ५१ रुपैयाँबराबरको कला सामग्री प्रदान गरेको छ । साथै प्रतिव्यक्ति रु.१५ हजार तथा दोसल्ला ओढाएर अग्रज सांस्कृतिक गुरुहरुलाई सम्मान गरेको थियो ।
पर्यटकहरुलाई फूलमाला टिका लगाइ स्वागत गरिएको थियो ।