वागीश्वरी हीरक वर्षको अवसरमा कबड्डी शुरु

खेलकूद विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २५ भदौ

वागीश्वरी मावि च्याम्हासिंहको हीरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता आजदेखि शुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका छात्रछात्राहरु सहभागी भएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै खेल मित्रता, अनुशासनका साथै देशभक्ति भावनाको विकासका लागि पनि खेल्नुपर्नेमा जोड दिएका छन् ।
उनले भक्तपुर नगरपालिकाले खेल विकासको लागि सक्दो ध्यान दिंदै आएको चर्चा गर्दै गतवर्ष विद्यालयस्तरीय विभिन्न आठ खेलको प्रतियोगिता सञ्चालन गरेझैं यसवर्ष पनि १३ वटा खेलको प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले खेलकुदमा खेलाडीहरु इमानदार भएझै देश निर्माण गर्न पनि उत्तिकै इमानदार हुन जरुरी रहेको धारणा राखे । भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्री, अखिल नेपाल कबड्डी सङ्घ भक्तपुरका अध्यक्ष विनोद प्रजापतिले पनि शुभकामना मन्तव्य दिएका थिए ।


कबड्डी प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष एवं सहप्राचार्य ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राचार्य कृष्णप्रसाद धन्छाले स्वागत गरेको थियो भने शिक्षक राजन लाखाले हीरक वर्षका कार्यक्रममाथि प्रकाश पारेको थियो ।
पहिलो उद्घाटन छात्रा खेलमा वागीश्वरी मावि (भक्तपुर) ले ख्वप मावि (भ.पु) लाई ३१ का विरुद्ध ३३ अङ्क प्राप्त गरी पराजित गरेको छ भने दोस्रो छात्रा खेल कन्या मन्दिर मावि (काठमाडौं) लाई ख्वप्रिङ एकेडेमीले ४० का विरुद्ध ५० अङ्क हासिल गरी पराजित गरे । त्यस्तै छात्रातर्फको अर्को खेलमा भीमेश्वर मावि (काठमाडौं) लाई जनसेवा मावि (काठमाडौं) ले ३८ का विरुद्ध ६० अङ्क प्राप्त गरी विजयी शुरुआत गरे ।
त्यस्तै छात्रतर्फको खेलमा बेलोर मावि (काभ्रे) ले ख्वप्रिङ एकेडेमीलाई (६०–३५) पराजीत गरे भने भीमेश्वर माविले ख्वप माविलाई ४६–३९ अङ्कले पराजित गरेको छ । आजको अन्तिम खेलमा नेपाल युवक मावि (काठमाडौं) लाई सेकरेड हार्ट मावि (काठमाडौं) ले (२५–४९) हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *