बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

कला/साहित्य विशेष समाचार समाचार

दमौली, २४ भदौ

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवंम् बन्दीपुर भेटघाट शुरु भएको छ ।

बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोट¥याक्ट क्लब अफ दमौली र ड्याप्स नेपालको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको पर्यटकीयस्थल एवम् संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे।

बन्दीपुरलाई केन्द्रमा राखेर समग्र तनहुँकै सांस्कृतिक परम्पराको उजागर गर्नका लागि आयोजित महोत्सवले संस्कृतिको जगेर्ना हुनुका साथै पर्यटकीयस्थलको प्रचारप्रसार गर्नसमेत मद्दत पुग्ने सांसद श्रेष्ठले बताए । सन् २०२० सम्ममा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्षलाई जिल्लास्तरमा हुने यस्ता मेला महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य डोवाटे विकले विभिन्न जातजातिको भाषा, संस्कृति संरक्षण र सम्वद्र्धनका लागि महोत्सवले टेवा पु¥याउने बताएका छन्। जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

महोत्सव उद्घाटनका अवसरमा नेवार समुदायको लाखे नाँच, डोको नाच, मगर समुदायको कौरा नृत्य, चेपाङ समुदायको ढ्याङ्गो नाचलगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । शनिवारसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *