मार्क्सवादको सारलाई सरल रूपमा जनतालाई बताउनु नै प्राध्यापकको जिम्मेवारी

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ माघ


नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको आयोजनामा नेमकिपाको ४९ औं स्थापना दिवसको अवसरमा समसामयिक विषयवस्तुमा प्रवचन कार्यक्रम आइतबार भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रँध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले प्राध्यापकहरुले ‘जनताको सेवा गर’ भन्ने मार्क्सवादको सारलाई आत्मसात गर्दै जनतालाई सरल रूपमा मार्क्सवादको सैद्धान्तिक पक्षबारे सुसूचित गर्नु आजको आवश्यकता भएको बताए ।

प्रत्येक दिन दुई हजारभन्दा बढी नेपालीहरु स्वदेशमा काम नपाएको भनी विदेशिरहेको वर्तमान स्थितिमा भारतीयहरु नेपालमा काम गरी वार्षिक ४ अर्ब डलर नेपाली रुपैया भारतमा लगिरहेकोतर्फ पनि सचेत हुन आवश्यक छ भन्दै नेमकिपाको केन्द्रीय परिषद्ले नेपालमा अध्ययन गर्न सकिने विषय अध्ययनको लागि विदेशमा जानबाट सरकारले रोक लगाउनुपर्ने निर्णयबारे उनले जानकारी दिए । देशको सार्वभौमिकता झन्झन् खतरामा रहेको स्थितिमा विद्यार्थीहरुलाई देशको राजनीतिक स्थिति र देशभक्तिको भावना जगाउन अब प्राध्यापकहरुको अहम भूमिका रहेको उनले बताए ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले भारतीय विस्तारवादले पाकिस्तानबाट पूर्वी पाकिस्तान (आजको बङ्गलादेश) टुक्रा गर्न भारतीय सेनालाई मुक्तिवाहिनीको रूपमा प्रयोग गरेको कार्यलाई नेमकिपाले तत्काल विरोध गर्नु नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपा स्थापनाको एउटा आधार भएको बताए । ‘बङ्गलादेश स्थापनामा समर्थन जनाउनु भनेको नेपालको तराई टुक्रा गर्ने आन्दोलनलाई स्वीकार्नु हुने थियो । जुन सार्वभौम देशको लागि घातक हुन्छ ।’ उनले भने ।

राजा ज्ञानेन्द्रले संसद विघटन गरेको समयमा संसद पुनस्थापनाको लागि संघर्ष गर्नुको विकल्प नरहेको स्पष्ट विषय प्रस्तुत गर्ने नेमकिपा नेपालको राजनीतिक संकटमा जहिले पनि प्रकाशस्तम्भको रूपमा उभिएको उनले बताए । ठूला पार्टीको बैशाखीमा टेकेको वर्तमान प्रचण्डको सरकार नेपालको राजनीतिक इतिहासमै कमजोर सरकार भएको बताउ“दै प्रचण्ड सरकारले पहिलो विदेश भ्रमण नै भारतबाट सुरु गर्ने बताउनु भारतीय विस्तारवादप्रतिको निरिहता भएको स्पष्ट पारे । सिद्धान्त र बुद्धि विलासिता र पैसामा बिकाउने वस्तु नभई आत्मनिर्भरताको आधार भएको उनले बताए ।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले पार्टी स्थापनाको आधार र यसको सान्दर्भिकताबारे प्रष्ट पारे । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पार्टीको विचारलाई देशभर फैलाउन प्राध्यापकहरु तयार हुनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी माविका सहायक प्रअ कृष्णप्रसाद कर्माचार्य, कलेजका शिक्षकहरु अम्बरदली श्रेष्ठ, धनकृष्ण प्रजापति र निरु ताल्चाभडेलले पनि बोलेको थियो ।
पार्टी स्थापना दिवस मनाउने क्रममा गत माघ ६ गते डा. राजुभाइ त्यातको प्रमुख आतिथ्यमा वागीश्वरी माविका शिक्षकहरुबीच पनि छलफल कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेक्राशिसंघ केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, विद्यालयका प्रअ कृष्णप्रसाद धन्छा, शिक्षकहरु विश्वेश्वर मानन्धर र राजन लाखाले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *