यसपालीको तःमुँज्या भक्तपुरको कमलविनायकमा शनिवार ‘आजको जनताको साहित्य’ विषयक विचार गोष्ठी

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, १६ भाद्र


यस वर्षको ३८औं नेपाल भाषा साहित्य तःमुँज्या भक्तपुरको कमलविनायकमा हुने भएको छ । कात्तिक ४ र ५ गते दुईदिनसम्म हुने उक्त साहित्य सम्मेलनमा नेपाल भाषाका साथै विविध भाषाका साहित्य वाचन हुनेछ । त्यसै सेरोफेरोमा रहेर शनिवार आजको जनताको साहित्य विषयक विचार गोष्ठी भएको छ ।
गोष्ठीका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सांसद प्रेम सुवालले जनताको समस्या नबुझिकन लेख्ने साहित्यले समाजवादको लक्ष्य पूरा गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले अबको साहित्यमा सामन्तवादी, पूँजीवाद, साम्राज्यवादी तथा भारतीय विस्तारवादले नेपालमा निम्त्याएको समस्याको उत्थान गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा चरम भ्रष्टाचार ल्याउने पूँजीवादी व्यवस्थाको अन्त्य र समाजवादको उदय नभइ देशमा निम्नवर्गको हित नहुने भएकाले तिनीहरुको अन्त्य हुने विषयमा लेख्नुपर्ने बताउनुभयो ।
मूल समितिका अध्यक्ष जनकवि चन्द्रबहादुर उलकले जनताले बुभ्mने जनताको भावनाअनुसार साहित्य लेख्न अनुरोध गर्नुभयो । साथै, यस तःमुँज्याले वर्गीय राजनीतिको नाराका रुपमा जनता बाँचेमात्रै भाषा बच्ने भएकाले स्थापनाकालदेखि नै भाषिक तथा वर्गीय आन्दोलन गरिआएको स्पष्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष नरेश खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले अमोद उलकको संयोजकत्वमा साहित्यिक समिति र लक्ष्मीप्रसाद चवालको संयोजकत्वमा सांस्कृतिक समिति भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा अमोद उलकले जनताको साहित्यबारे मन्थन गरिरहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम अन्तरक्रियात्मक रुपमा चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *