सङ्कटमा हुन्छ पार्टी कार्यकर्ताको परीक्षा

राजनीति विशेष समाचार समाचार

भक्तपुर, ९ भदौ । कतिपय अवस्थामा नराम्रो स्थितिबाट पनि राम्रो वा सकारात्मक परिणाम निस्कन्छ । ०४५ सालको भक्तपुर काण्डमा झूटो अभियोगमा नेपाल मजदुर किसान सङ्गठनका सदस्यहरुले चर्को यातना पाए, जेलनेल भोगे, भूमिगत भई काम गर्न र प्रवासमा जान बाध्य भए तर त्यसले सङ्घर्षको निम्ति पार्टी सङ्गठनलाई भावनात्मक रुपमा एकढिक्का बनायो, बलियो बनायो र शासक वर्गसित कानुनी र बौद्धिक लडाईँ गर्ने तरिका र कुशलता विकास भयो ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले भक्तपुर काण्ड (भदौ ९) को विरोध एवं भत्र्सना गर्न शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
भक्तपुर काण्डको बेला पञ्चायती शासकहरूले हरेक ऐन–कानुन र नैतिक मूल्य मान्यता कुल्चेर नेमकिपालाई समूल नष्ट गर्ने जालझेल र नाङ्गो नाच प्रदर्शन गरेको स्मरण गर्दै उहाँले नेमकिपालाई दोष लगाउन पञ्चहरुले योजनाबद्ध षड्यन्त्र गरेको खुलासा भएको बताउनुभयो ।
चर्को यातना दिएर कतिपय बन्दीहरूलाई झूटो साविति बयानमा सही गर्न बाध्य पारेको बताउँदै उहाँले भक्तपुर काण्डले राजनीति चिया पार्टी होइन भन्ने सर्वहारा वर्गका गुरु माओ त्सेतुङको उक्ति स्मरण गराएको उल्लेख गर्नुभयो ।
आगोमा राखी सुन जाँचिएझैं सङ्कटमा पार्टी कार्यकर्ता र साथीहरूको परीक्षण हुने बताउँदै भक्तपुर काण्डमा निःस्वार्थी कार्यकर्ताहरु खरो रुपमा उत्रेको र बौद्धिक भनाउँदा डरछेरुवाहरूले पञ्चायतसामु आत्मसमर्पण गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले पार्टी कार्यकर्ताहरूले सर्वहारा वर्गसित गुमाउनलाई हातमा बाँधिएको सिक्रीबाहेक केही छैन तर जित्नका लागि सारा संसार अगाडि छ भन्ने कम्युनिष्ट घोषणापत्रको मार्गनिर्देशलाई आत्मसात गरी काम गर्न सुझाव दिनुभयो ।
उहाँले नयाँ पुस्तालाई समाजको हित र समाज परिवर्तनको लागि राजनीति गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले भक्तपुर काण्डबारे पञ्चे र प्रतिक्रियावादीहरुले व्यापक गलत प्रचार गरेको बताउँदै नेपालमा कम्युनिष्ट प्रभाव बढ्ला र सही बाटोमा अघि बढ्ला भनी तर्सेका शासक वर्गले राज्यस्तरको षड्यन्त्र गरेको बताउनुभयो ।
कञ्चनपुर बलात्कार घटना र महिला अस्मितामाथिको जघन्य अपराधका दोषीमाथि मृत्यु दण्डसम्मको सजाय हुनुपर्ने माग दोहो¥याउँदै उहाँले भक्तपुर काण्डजस्ता घटनाबाट नयाँ पुस्ताले शिक्षा लिनसक्नुपर्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले भक्तपुर काण्डले पार्टी सङ्गठनभित्रैका कमजोर र लोभीपापीहरुलाई अलग्याएको बताउँदै समाजवाद र स्थापनाको लागि सङ्घर्ष गरिरहेको पार्टीविरुद्ध पुँजीवादी र प्रतिक्रियावादीहरुले षड्यन्त्र गरेर फसाउन सक्छन् भन्नुभयो । सभापतिको आसनबाट नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कमलमैया सुवालले भक्तपुर काण्डमा महिलाहरुले ठूलो दुःख र अप्ठ्यारोको सामना गरेको मात्र नभई सङ्घर्ष गर्ने साहस प्रदर्शन गरेको बताउनुभयो ।
भक्तपुर काण्डले भक्तपुरका महिलाहरुलाई राजनैतिक रुपमा सचेत र सङ्गठित हुनुपर्छ भन्ने पाठ सिकाएको स्मरण उहाँले गर्नुभयो ।
प्राध्यापक समाजका सदस्य डा. राजुभाइ त्यातले भक्तपुर काण्डको क्रममा भूमगित रुपमा भएका गतिविधिबारे तथा नेक्रायुसङ्घका पूर्वअध्यक्ष प्रकाश थुसाले भक्तपुर काण्डमा हिरासतको यातना र जेलजीवनबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका सचिव सुलोचना छ्वाजू र कोषाध्यक्ष गङ्गा वैद्यले पनि भक्तपुर काण्डको भत्र्सना गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *