मोही र जग्गाधनीबीच जुनसुकै बेला जग्गा बाँडफाँट गर्न पाउन, प्रस्तावित रङ्गशाला पीडित किसानहरुको माग सम्बोधन गर्न र भूकम्प पीडितलाई अनुदान र ऋण दिलाउन नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र भूमिसुधार अधिकारीमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।
सङ्घका जिल्ला अध्यक्ष एवं किसान नेता गोविन्द दुवालको नेतृत्वमा गएको प्रमण्डलले लिखित मागपत्र बुझाएको थियो । मागपत्रमा दाजु–भाइबीच घर–सल्लाह नमिलेको, मुद्दा–मामिला भएको, नामसारी हुन नपाएको, जग्गाधनीको जग्गा दर्ता नभएको, भोगचलन एकको–नाम अर्कैको, प्रमाण कागजात नभेटिएको, निजी गुठी जनिएको कारण निर्धारित समयावधिभित्र निवेदन राख्न सम्भव नभएको तथा वर्तमान कानुनमा नयाँ मोही कायम नहुने भएकोले बाँकी मोही र जग्गाधनीले कुनै पनि समयमा बाँडफाँट गर्न पाउनुपर्ने उल्लेख छ ।
भक्तपुरमा खेतीयोग्य जमीन बाँकी नभएको अवस्थामा स्मार्ट सिटी, बाहिरी चक्रपथ र अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको चर्चाले भक्तपुरका किसानहरु आतङ्कित भएको उल्लेख भएको सो पत्रमा सरकारले काठमाडौंको दशरथ रङ्गशालाको मर्मत सम्भार र व्यवस्थापनसमेत गर्न नसकेको अवस्थामा स्थानीय तहको मातहतमा सरकारले देशभर सानासाना खेलमैदानको विकास गरी राष्ट्रिय स्तरका खेलाडी तयार गर्नेतिर पहिलो प्राथमिकता दिनुपर्ने तथा देशको सन्तुलित विकासको लागि अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला तराईमा बनाउनु उपयुक्त हुने उल्लेख छ ।
भूकम्प पीडितको हित र सुविधालाई ध्यानमा राखीे चार लाख रुपैयाँ एकमुष्ट अनुदान उपलब्ध गराउन तथा पुग्दो सहुलियत ऋण उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ । प्रमण्डलमा नेक्राकिसङ्घका केन्द्रीय सचिव विकल प्रजापति, कोषाध्यक्ष हरिराम सुवाल र सदस्य नारायणभक्त भेलेलगायत हुनुहुन्छ ।
