‘भक्तपुर काण्डले पञ्चायती व्यवस्था उदाङ्गियो’

राजनीति विशेष समाचार समाचार

भक्तपुर, १ भदौ । ‘नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्ने उद्देश्यले नै कुनै पनि समितिमा नभएका ह्योजुलाई भूकम्पबाट केही क्षति नभएका व्यक्तिहरूलाई राहत वितरण गर्न लगाएर भूकम्प पीडित जनतालाई आक्रोसित बनाई ह्योजूकाण्डको घटना घटाएको हो ।’
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर काण्ड (कालो दिवस) को स्मरणमा भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भएको प्रवचन कार्यक्रममा राख्नुभएको हो ।
भक्तपुर काण्डलाई जर्मनीको राइखस्टाग आगलागी काण्डसँग तुलना गर्नुहुँदै अध्यक्ष रोहितले जसरी राइखस्टाग काण्ड जनताको अगाडि उदाङ्गियो त्यसरी नै भक्तपुर काण्डले पञ्चहरूलाई जनताको अगाडि उदाङ्गिएको उल्लेख गर्नुभयो ।
तत्कालीन जर्मन सरकारले संसदमा आफैले आगो लगाउन दिएर कम्युनिष्टहरूलाई समूल नष्ट गर्न खाजेको इतिहास विश्वसमक्ष भएको अध्यक्ष बिजुक्छेंले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले कर्ण ह्योजूलाई मार्ने षड्यन्त्र पञ्चायती राज्यस्तरबाट नै रचिएको घट्नाक्रमबाट स्पष्ट भएको बताउनुभयो । तत्कालीन समयमा जनताले धेरै सहयोग गरेको स्मरण गर्नुहुँदै उहाँले कार्यकर्ता साथीहरूले अलिकति पनि हीनताबोध गर्न नहुुने बताउनुभयो ।
देश र जनताको सेवामा लाग्ने राजनीतिक कार्यकर्तालाई षड्यन्त्रमा फसाउने सम्भावना धेरै भएकोले सधैं सजग र सचेत भई अगाडि बढ्नुपर्नेमा अध्यक्ष बिजुक्छेंले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति भनेको गुलाबको ओछ्यान नहुने र राजनीतिको बाटो बाङ्गोटिङ्गो हुने बताउनुभयो ।
देश र जनताको लागि सेवा गर्न त्याग र बलिदानको भावना हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले जननिर्वाचित पदाधिकारीहरू हुँदाहुँदै कुनै समितिमा नभएका कर्णप्रसाद ह्योजुलाई राहत वितरण गर्न दिनु नै राज्यस्तरबाट षड्यन्त्रको सुरूआत भएको प्रस्टिएको बताउनुभयो ।
तत्कालीन नेपाल मजदुर किसान सङ्गठनको पञ्चायतमा गएर जनताको सेवा गर्ने नीतिअनुरूप जनताको सेवा गर्ने कार्य गरेको पञ्चहरूलाई सह्य नभएपछि राज्यस्तरबाट उक्त घटना घटाइएको उहाँले उल्लेख गर्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवाले तत्कालीन जेल जीवन र विद्यार्थी आन्दोलनको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका प्रशासन प्रमुख अम्बिका धौभडेलले भक्तपुर काण्ड अन्याय र अत्याचारको सृङ्खला रहेको धारणा राख्नुभयो ।
पूर्व वडाध्यक्ष कृष्णभक्त लवजूले भक्तपुर काण्डको समयमा आफू कर्मचारी भएर पनि तत्कालीन समयमा राज्यले आफूलाई निर्मम अमानवीय यातना दिएको अनुभव सुनाउनुभयो ।
भक्तपुर नगरपालिकाका पूर्व कर्मचारी कृष्णसागर बासीले वडा वडामा जनप्रतिनिधिहरूको आदेशअनुसार भूकम्पले क्षति पु¥याएको ठाउँको अवलोकनमा गई क्षतिको विवरण सड्ढलनमा व्यस्त रहँदा पञ्चायत सरकारले आफूलाई घटनामा संलग्न भएको आरोपमा निर्मम यातना दिएको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, प्रशासकीय अधिकृत रोहितराज पोखरेल र भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

 स्रोतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *