वागीश्वरीमा माक्र्सको द्विशतवार्षिकीको अवसरमा प्रवचन

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २ भदौ– हरेक योग्य व्यक्तिको सफलतामा महिलाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । माक्र्सको जीवनीमा पनि यस्तै भूमिका उहाँकी पत्नी जेनीले निभाएकी थिइन् ।
उपरोक्त विचार नेपाल प्राध्यापक समाज, वागीश्वरी मावि÷कलेजको आयोजनामा शनिवार भएको विश्व सर्वहारा वर्गका महान गुरु कार्लमाक्र्सको द्विशतवार्षिकीको अवसरमा भएको प्रबचन कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाई व्यक्त गर्नुभएको हो । ‘माक्र्स चिन्तनशील, अध्ययनशील र गरिव तथा निम्नवर्गका जनतामाथि भएको अन्याय अत्याचारविरुद्ध लड्ने महान व्यक्ति हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘जहाँ द्वन्द्व हुन्छ, त्यहाँ निश्चित रुपमा परिवर्तन हुन्छ । यही द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त माक्र्सले प्रतिपादन गरेको छ ।’
प्रमुख अतिथि गोसाईले पुस्तक पढेरभन्दा व्यवहारिक रुपमा उतारेर माक्र्सवादी सिद्धान्तको प्रयोग गर्नसकिने बताउनुभयो । माक्र्सवादले कसैको दासत्व स्वीकार नगर्ने र स्वतन्त्र रुपमा मानवीय स्वतन्त्रतालाई अगाडि बढ्न दिने भएकाले नयाँ पुस्तालाई यससम्बन्धी चिन्तन गर्न दिनुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले माक्र्सवादले परिमाणात्मकभन्दा गुणात्मक परिवर्तनको अपेक्षा राख्ने र अध्यात्मभन्दा भौतिकवादी सिद्धान्तलाई नियाल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले समाज विकासको सिद्धान्तलाई प्रतिपादन गर्ने कार्लमाक्र्सको सिद्धान्तलाई सबैले नियाल्नुपर्ने बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट घोषणापत्रबारे अध्ययन नगरी एनजीओ÷आईएनजीओको दलदलमा फसेको स्पष्ट पार्दै भक्तपुर नगर पालिका एउटै मात्र एनजीओलाई प्रवेश नदिएको नेपालको एउटै मात्र नगरपालिका भएको बताउनुभयो । साथै नेपालमा प्रेस स्वतन्त्रता नभएकै बेला प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादीभित्र गई कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सफल नेपाल मजदुर किसान पार्टीले अँगालेको माक्र्सवादी सिद्धान्त अनुसार काम गरेकै कारण व्यक्तिगतभन्दा जनताको हितमा अगाडि बढेको उहाँको भनाइ छ । उहाँले हिजोको मर्यादित र सम्मानित शिक्षण पेशालाई आज पूँजीले किनिरहेको अवस्थामा वागीश्वरीले यसलाई बचाउनसकेको स्मरण गराउनुभयो । पैसाले गर्दा शिक्षण पेशा घृणामा बदलिन सक्ने भएकाले माक्र्सवादी सिद्धान्तको अध्ययनले व्यापक जनताको सेवा गर्न सक्ने उहाँको कथन छ । उहाँले कम्युनिष्ट विचारको चिन्तन नगरेकै कारण आजको नेपाल हिजोको पञ्चायतभन्दा बिग्रेको स्पष्ट पार्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय कोषाध्यक्ष सुशिला कर्माचार्यले माक्र्सवादअन्तर्गत क्लारावेथिनको जीवनीबारे स्पष्ट पार्नुभयो । उहाँले प्राध्यापकहरुले पूँजीवाद र समाजवादबारे स्पष्ट रुपमा बुझी समाजवादका निम्ति योगदान गर्न सुझाव दिनुभयो । आयोजक समितिका सदस्य निरु ताल्चाभडेलले कार्लमाक्र्सको जीवनी र दर्शनबारे बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहाल, उकेश सुवाल, राजन चौगुठीलगायतले माक्र्सवादको सान्दर्भिकत र सार्थकताबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *