काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले सोमबार भक्तपुरमा भएको प्रहरी ‘इन्काउन्टर’बारे छानबिन हुने बताएका छन्।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री थापाले नियमित प्रक्रिया भएकाले छानबिन अगाडि बढ्ने बताएका हुन्। थापाले भने,’ एक हदसम्म छानबिनको प्रक्रिया टुंगिएको छ। तर केही छानबिन छन् त्यो हुन्छ।’
सोमबार प्रहरीको गोली लागेर सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीयको अजय तामाङको मृत्यु भएको थियो। प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ। तर प्रहरीको ‘इन्काउन्टर’माथि अहिले आशंका भइरहेको छ।
प्राप्त रिपोर्ट अनुसार इन्काउन्टरमा दुई जना मारिएको र फेक इन्काउन्टर हल्लाको रूपमा मात्र भएको उनले बताए।
घटनाको प्रकृति, प्रत्यक्षदर्शीको बयान अनुसार प्रहरीले कोठाबाट नै पक्राउ गरी गोली चलाएको देखिन्छ। आइतबार साँझ अपहरणमा परेका बालक खड्काको शव सोमवार मध्यान्ह भक्तपुरको थिमीमा मृत अवस्थामा फेला परेको थियो।
गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विकलाई आपराधिक गतिविधिमा संलग्न भएकाले पक्राउ गरेको समेत बताए। गृहमन्त्री थापाले भने,’ गैर कानुनी क्रियाकलाप गर्नेलाई कानुनको दायरामा ल्याउनु हो। चन्दा आतंक र राज्यविरुद्ध लागेकाले गिरफ्तार गरिएको हो। जसले विधि र नियमको उल्लङ्घन गर्छ त्यसलाई हामी अपराधी भन्छौँ।’
महानगरीय प्रहरी परिसर काठमाडौँले विकलाई मंगलबार पक्राउ गरेको थियो। उनीविरुद्ध जिल्ला अदालतबाट पाँच म्याद थप गरेर अनुसन्धान भइरहेको छ।