गरुड कुण्डबारे एक खोज

विशेष समाचार समाचार

-ओम धौभडेल 

मानव जीवनको लागि पानी अपरिहार्य छ । हनुमन्ते र खासाङखुसुङ खोलाको छेउमा रहेको भक्तपुर नगरका हरेक धार्मिक र सांस्कृतिक गतिविधि यी दुई खोलासित सम्बन्धित छ । हरेक भक्तपुरवासीको जन्ममरणको सेतु बनेका यी खोलासित यति नजिकको सम्बन्ध भएर पनि आफ्नो बस्ती यी खोलाभन्दा अलि सुरक्षित थुम्कोमा बनाएको हामी सजिलैसित देख्नसक्छांै । तर आफ्नो बस्तीभित्र दैनिक जीवन सञ्चालनको लागि नगर बस्तीभित्र ठाउँ–ठाउँमा पोखरी, ढुङ्गेधारा, जलद्रोणी, इनार, कुवा, कुण्ड आदिको व्यवस्था भएबाट पानीको महत्व कतिको रहेछ, थाहा हुन्छ । भक्तपुर नगरभित्र धेरै इनार र ढुङ्गेधारा छन् । त्यस्तै पोखरी र जलद्रोणीको पनि व्यवस्था छ भने सबैभन्दा कम कुण्डको निर्माण भएको देखिन्छ । नगरको शोभा बढाउनदेखि मनोरञ्जन वा दैनिक जनजीवनसँग जोडिएका पोखरीहरू यहाँप्रशस्त पाइए तापनि आकारमा पोखरीभन्दा साना यस्ता कुण्डहरू भन्ने बढीजसो धार्मिक उद्देश्यले नै निर्माण भएका हुन्छन् । यस्ता कुण्डहरू दह, दहचा आदि नामले यहाँ चिनिन्छन् । भक्तपुर नगरभित्र–बाहिर ठाउँ–ठाउँमा यस्ता कुण्डहरू देख्न सकिन्छ । यसमा भक्तपुर औद्योगिक क्षेत्रभित्रको कालीदह, भक्तपुर तलेजुभित्रको नागदह, चम्पक तीर्थस्थित काँल्हाचा, चोर्चास्थित दहचा, नासमनास्थित मङलकुण्ड, च्याम्हासिंहस्थित गरुडकुण्ड आदि हाल पनि जीवन्त छन् । अरु कैयौं कुण्डहरू लोप भइसकेका छन् । यसमा तालादोंङ्फोको कुण्ड, लिवि चोकको नकिन्जुलिवि दहचा, तुलाछेंको मार्केण्डय कुण्ड आदिको नाम आउँछ ।

यो आलेख भक्तपुर नगरको एक प्रसिद्ध गरुडकुण्डसित सम्बन्धित छ । भक्तपुर नगरको पूर्वी भेगको च्याम्हासिंहबाट कमलविनायक जाने मार्गको दायाँपट्टि बाटो छेउमा एउटा गहिरो भाग देख्न सकिन्छ । तीन तहमा ठूलाठूला पेटी भएको सो गहिरो ठाउँमा जान मूलबाटोसित जोडिने गरी खुड्किला छन् । खुड्किलामार्फत तीनतह मुनिको सम्म परेको स्थानमा पुगेपछि एउटा ढुङाको मन्दिर पुगिन्छ । त्यसको ठीक दक्षिणपट्टि एउटा सानो दह देख्न सकिन्छ ।
सो दहको पूर्वी भित्तामा अति आकर्षक गरुड नारायणको मूर्ति रहेको छ । गरुडमाथि आसन जमाएर बसेको नारायणको सो मूर्ति अति आर्कषक छ । यहाँ उक्त गरुडको नाभीबाट जल प्रवाह भइरहेको देख्न सकिन्छ । गरुडको नाभीबाट आएको जलबाट बनेको कुण्ड भएर यहाँ उक्त कुण्डको नामकरण नै गरुड कुण्ड हुनु अत्यन्त महत्वको विषय हो । यसलाई स्थानीय भाषामा गर्खचा भन्ने गरिन्छ ।
गरुडकुण्ड करिब ७ हात लामो, ५ हात चौडा र ४ हात जति गहिरोमा बनेको छ । सम्पूर्ण कुण्ड नै असल ढुङाले छापिएको छ । गरुड कुण्डबारे थरी–थरीका किंवदन्ती पनि सुन्न पाइन्छ । भनिन्छ, गरुड कुण्डको पानीको रङ दिनभरमा तीनपटक फेरिन्छ । बिहान, दिउँसो र बेलुका कुण्डको पानीको रङ फेरिरहन्छ भन्ने मान्यता छ । तर गरुडको नाभीबाट निरन्तर प्रवाह भइरहेको जल निर्मल, शुद्ध एवम् चिसो हुन्छ । जमिनमुनिको मूलदेखि नै उत्पन्न जल भएको कारण यसो भएको हुनसक्छ । त्यतिबेला यसरी पानीको रङ दिनको तीनपटक परिर्वतन भएको देख्ने थुप्रै अग्रजहरू अहिले पनि हुनुहुन्छ । तर मूलको पानी सुकेपछि गरुडको नाभीबाट पानी बग्न छोडेयता स्थानीयवासीहरूको सक्रियतामा खानेपानीको पाइप जोडेर भए पनि पानी आइरहेको छ । आजभोलि यहाँको पानी दिनको तीनपटक परिर्वतन हुने गर्दैन । दिनको तीनपटक के–के रङमा फेरिने हो कसैले बताउन सक्ने अवस्था छैन । यहाँनेर अर्को एक किंवदन्तीअनुसार यो कुण्डमा कालो रङको सर्प प्रायः निस्किरहेको हुन्छ । पानी प्रवाह भइरहेको गरुडको नाभीबाट कालो सर्प निस्की गरुडमाथि आसनमा रहेको नारायणको मूर्तिलाई प्रायः बेरेर बसेको हुन्थ्यो । केही समयपश्चात् पुनः उही गरुडको नाभीभित्र गई लुप्त हुन्थ्यो । यस विषयमा यो कुण्ड वरपर प्रायः सर्पहरू निस्किरहेको चर्चा सुन्न पाइन्छ । यहाँ देखिएका सर्पहरू कहिलेकाहीं यहाँको पानी बग्ने निकाससँगै पूर्वतिरको जनस्वास्थ्य भवननेर पनि नदेखिइएको होइन । कुनै समय गरुडकुण्ड क्षेत्र सुनसान क्षेत्र भएको बखत त अझ धेरै यस्ता सर्प आइरहेको हुनुपर्छ । अचेल वरपर बस्ती हुनु र मानिसहरूको आवतजावत भइरहने हँुदा सर्प प्रायः कममात्र देख्न सकिन्छ ।
यस महत्वपूर्ण कुण्डको स्थापना तथा विकास कसले कहिले गरेको थियो, ऐतिहासिक प्रमाणको अभाव छ । गरुड कुण्ड रहेको स्थानको केही दुरी पूर्व तुला रानीको तुमचो दरबार रहेको कथन छ । त्यसो त तुला रानी को हुन् भन्नेबारे कुनै ठोस प्रमाण छैन । तर तुला रानीको प्रसङ च्याम्हासिंह देगइना यातु बाहारे (हालको कमलपोखरी) सम्म जोडिएकोे छ । ठाउँबाट केही दुरी पूर्व वाचु हिटी नामको एउटा ढुङेधारा छ । जुन धारासँग तुला रानीको प्रसङ जोडिएको छ । तुला रानी प्रत्येक दिन वाच्चु हिटीमा मुख धोई यातु बहारे (कमलविनायक पोखरी) स्थित यातु गणेश दर्शन गर्ने गर्थिन् भन्ने कहावत छ । वाचु हिटीमा भेटिएको ने.स. १४४ को एक अभिलेखमा भिक्षुणी सङ्घको प्रसङ आएको छ । यही टोल इलाकाको तौलाछेंको एउटा इनार तलातुथि नामले प्रसिद्ध छ । कतै यो इनार उनै तुला रानीले बनाउन लगाएको भएर तुलातुथिं कहलिदैं आएकोमा पछि तलातुथि भएको पो हो कि, अध्ययनको विषय हो । यतिमात्र होइन, फागु पूर्णिमाको एक साताअगाडि तचपाल टोलस्थित भिमसेन मन्दिरमा ‘चीर स्वायेगु’ गरिसकेपछि फागुसम्बन्धी एउटा गीतमा समेत तुला रानीको उल्लेख हुन्छ । यसबाट तुला रानी एकताकाको बान्दिमगलको रानी हुनुपर्छ । जसको कारण उनको किर्ति यही भेगमा मात्र भेटिएको हो । सम्भवतः यो गरुड कुण्डको स्थापना पनि उनै तुला रानीले गरेको हुनुपर्छ । गरुड कुण्ड उनकै दरबार नजिक पर्दछ । कालान्तरमा भक्तपुर नगर पश्चिमतर्फ सर्दै जाँदा तुमचो दरबार एवम् उनका कीर्ति ओझेलमा पर्दै गए । यसैबीच भक्तपुरका मल्ल राजा प्राण मल्लले यो गरुड कुण्डको महत्व बुझी प्रत्येक दिन यहाँ स्नान गर्ने नित्यकर्म बनाए । तत्कालीन समयमा दरबारभित्र पहुँच भएका टौमढीस्थित थाछें जोशीहरूले यस कुण्ड रहेको ठाउँको दक्षिणतर्फ ढुङैढुङाको गुम्बज शैलीको एक मन्दिर बनाई शिवलिङ थापना गरे । कुण्डको समीप रहेको हुदाँउक्त महादेवको नाम जलेश्वर महादेव नामकरण भयो । उक्त नित्य पूजा तथा वार्षिक पुजा वर्षबन्धनको लागि प्रशस्त जग्गाजमिन आयस्ता राखी गुठी ठेकिदिए ।
कुण्डको अर्को एक विशेषताको रुपमा कुण्ड जाने खुड्किलाहरूलाई लिने गरिन्छ । विशेषगरी अक्षर सिक्नेहरूलाई ‘ॐ नम सीवाय नमोवागीश्वराय’ भनी खुड्किला चढ्न सिकाइन्छ । त्यस्तै यो कुण्डको जल पवित्र भएको कारण विशेषगरी शिवरात्रीताका दत्तात्रय दर्शन गर्न आउने भारतीय दर्शनार्थीहरू सर्वप्रथम यही गरुड कुण्ड आई यहाँको जल लिई दत्तात्रयको पूजा गर्ने चलन थियो । तर समय कालखण्डले आजभोलि यहाँको जल लाने गरेको देखिंदैन । च्याम्हासिंह हुँदै कमलविनायक जाने पक्की सडकको छेउमै रहेको सो गरुड कुण्डको संरक्षण गर्ने काम भइरहेको छ । गरुड नारायणको प्रस्तरको अति आकर्षक मूर्ति लेउ झेउले कुरुप बनेको छ । सफा निर्मल पानीले प्रख्यात दह अचेल फोहर पानीले भरिएको छ । यसैबीच यही असार १९ गतेको घटनालाई लिऊँ । केही दिन अगाडिमात्र महादेवको मन्दिर तथा गरुड कुण्ड अवलोकन गर्ने मनसायले मध्यान्हको समय जब म त्यहाँ पुगें, एउटा अनौठो दृश्य देखें । कुण्डको मध्य भागमा अलि अलि रातो तर धमिलो फोहर पानी कहिले गजुर आकारमा, कहिले शिवलिङजस्तै कहिले महादेवको जटाजस्तै एकनासले घुमिरहेको देखें । मन्दिर पुनर्निर्माण समितिका केही जिम्ेमवार व्यक्तिलाई देखाई तत्काल त्यसबारे सामाजिक सञ्जालमा जिज्ञासा राखें । धेरै समय पछि त्यो त पानीमा बस्ने कीरा पो रहेछ । यसको अर्थ कुण्डको पानी फोहर रहेछ ।
भूकम्पले क्षतिग्रस्त भएको जलेश्वर महादेवको मन्दिर केही समय अगाडि भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण भइसकेको छ । २०७४ साल फागुन १९ गते भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शिलान्यास गर्नुभएको थियो । यसै सिलसिलामा २०७५ साल असार ११ गते मन्दिरमा गजुर प्रतिष्ठाको कार्य पनि सम्पन्न भइसकेको छ । अबको चुनौती भनेको गरुड कुण्ड तथा वरपरको वातावरणको संरक्षण र संवद्र्धन गर्नु हो । कुण्डमा हरेक समय पानी आइरहने वातावरण बनाई राख्नु आवश्यक देखिन्छ । तुमचो–दुगुरे इलाकामा यस्ता थुप्रै पानीका स्रोतहरू छन् । त्यसबारे गहन अध्ययन हुनुपर्छ । त्यस्तै गरुड कुण्डबाट निस्कने पानीको निकासबारे ख्याल गर्नुपर्छ ।
अचेल यसको निकास जनस्वास्थ्य भवनसम्म मात्र बाँकी छ । अब गरुड कुण्डको निकास कुनै पनि बेला समस्या बन्न सक्छ । यसबारे सचेत हुनुपर्छ । गरुड कुण्डको बढीभन्दा बढी प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकहरूको गन्तव्यस्थलको रुपमा विकास गर्नसकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *