भक्तपूर , ६ जेठ

सल्यानको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्म सडकको टर्याक खोलेको वर्षौं बितिसक्दा समेत ३ किलोमिटर मात्र कालोपत्र भएको छ । बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्मको सडकको टयाक १५ वर्षपहिले नै खोलेको भएपनि स्तरोन्नतिको प्रगति नगन्य देखिएको हो । सरकारी निकाय र निर्माण व्यवसायीको बेवास्ताका कारण स्थानीयबासी कच्ची सडकमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सल्लीबजारदेखि चौरजहारीसम्मको ४१ किलोमिटर सडक स्तरोन्नति नहुँदा यात्रुहरु धुलाम्मे र हिलाम्मे यात्रा गर्न बाध्य छन । सडक स्तरबृद्धिका लागि सडक डिभिजन कार्यालय दाङले १० करोड बढी रकम खर्च गरिसकेको छ । तर सडक वर्षेनी जीर्ण बन्दै गइरहेको छ । सडक स्तरोन्नतिको काम बीचमै अलपत्र परेपछि यात्रुलाई आउजाउमा सास्ती भएको हो । ठेकेदारले स्तरोन्नतिको जिम्मा लिए पनि बीचैमा काम छाडेर भाग्ने गरेकाले सडकको अवस्था सुधार हुन नसकेको हो । यात्रुहरु बर्षामा हिलाम्मे र अन्य समयमा धुलाम्मे यात्रा गर्न बाध्य छन । ठेकेदार भाग्ने समस्याका कारण सडकको तीन किलोमिटर खण्डमात्र कालोपत्रे हुन सकेको छ । ठेकेदारले कामप्रति बेवास्ता गर्दा केही बर्षअघि गरिएको ग्राभेल अधिकांक उप्किसकेको छ । सुख्खायाममा धुलो र वर्षातमा हिलोले गर्दा सडकमा गाडी जाम हुने गरेको स्थानीय नेत्र थापाले बताए । १० बर्षअघि काम सुरु गरेका ठेकेदारसमेत काम छोडेर भागे पनि सरकारी निकायले कारवाहीमा बेवास्ता गरेको उनी बताउँछन ।
सल्लीबजार–चौरजहारी सडक सञ्जालमा जोडिएपछि विकासका अन्य गतिविधि र सेवासुविधा बढ्ने स्थानीयको अपेक्षा थियो । तर टर्याक खाेलिए पनि स्तरोन्नति नहुँदा समस्या भएको स्थानीय बासिन्दा बताउँछन् । उक्त सडकखण्डको स्तरोन्नतिका लागि अहिलेसम्म १० ओटा कम्पनीले जिम्मा लिए । तर आधा पनि काम नगरी छाडेपछि सडकको अवस्था बिजोक बनेका हो । उक्त सडकमा टर्याक खोलिएको बाहेक स्तरवृद्धिको नाममा १० करोड भन्दा बढी खर्च भइसकेको छ । निर्माण कम्पनीको लापरबाहीकै कारण वर्षेनि सडक जीर्ण बन्दै गएको छ । सडक खण्डमा पर्ने बनगाड खोला र स्यानीपिपली खोलामा पुल नबन्दा जोखिमपूर्ण रुपमा आवतजावत गर्नुपर्ने अवस्था छ । गत आर्थिक वर्षमा सात किलोमिटर कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ११ करोड बिनियोजन गरेको भएपनि ठेकेदारले काममा ढिलाइ गरिरहेका छन । गत वर्ष गजुरमुखीरगाल्भा जेभीका तर्फबाट रामबहादुर बिष्टले कामको जिम्मा लिएका थिए । उक्त ठेकेदार कम्पनीले सात महिनादेखि निर्माणस्थल छोडेको छ । सडक डिभिजन कार्यालय दाङसंग ३३ महिनामा काम पुरा गर्नेगरी ठेकेदार कम्पनीले सम्झौता गरेको थियो । सडकको जिम्मा प्रदेश सरकार मातहत गएपछि ठेकेदार कम्पनीले थप बेवास्ता गरिरहेको स्थानीयको भनाइ छ । गजुरमुखीरगाल्भा जेभीका प्रोपराइटर नरहरी थपलिया र पेटीमा काम गरिरहेका ठेकेदार रामबहादुर बिष्ट सम्पर्कविहीन भएको स्थानीयले बताएका छन ।
अघिल्लो बर्ष स्तरोन्नतिको जिम्मा लिएको हिमदुङ ठोकर कन्ट्रक्सनले समेत काम पुरा नगरी छाडेको स्थानीय बिमलकुमार खडाले बताए । उनले ठेकेदारकै लापरवाहीका कारण लामो समयदेखि पुल अलपत्र परेको जानकारी दिए । ठेकेदारले विभिन्न बहानामा काम सम्पन्न गर्न पन्छिने गरे पनि सरकारी निकायले बेवास्ता गरिरहेको उनको भनाई छ । बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोबिन्दकुमार पुनले सल्लीबजार—चौरजहारी सडकमा ठेकेदारले काम गर्ने क्रममा आलटाल गरिरहेको बताए । उनले ठेकेदारको लापरवाहीका कारण सरकारी रकमको दुरुपयोग बढ्दै गएको जनाए । ‘पटक—पटक ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न ताकेता गरिरहेको छु,’ उनले भने, ‘तर विभिन्न बहाना बनाइ ठेकेदार पक्षले निर्माणमा ढिलाइ गरिरहेको छ ।’ उनले ठेकेदार कम्पनीलाई कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी भइरहेको उनको भनाइ छ । अहिले सडक डिभिजन कार्यालय दाङको जिम्मेवारी सरेर सुर्खेतमा आएको छ । डिभिजन कार्यालय, सुर्खेतले सल्लीबजार—चौरजहारी सडकको बजेट निकासा गरिसकेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘यस वर्ष सडक स्तरोन्नतिको कामका लागि क्रमागत बजेट बिनियोजन गरिसकिएको छ, ठेकेदार पक्षलाई काम छिटो सक्न ताकेता गरिरहेका छौं,’ उनले भने, ‘अहिलेको काम सम्पन्न भए आगामी वर्ष कालोपत्रेका लागि पर्याप्त रकम बिनियोजन गरिनेछ ।’ उनले प्रदेश राजधानी सुर्खेतलाई विभिन्न जिल्ला जोड्ने सजिलो र सहज मार्ग भएकाले सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । यता प्रदेश राजधानी पुग्न यो छोटो मार्ग पर्ने भएपनि तीनै तहका सरकारले स्तरोन्नतिमा बेवास्ता गरिरहेको स्थानीय देवबहादुर विष्टले गुनासो गरे ।