न्यूज अपडेट
भक्तपुर, २५ चैत
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आज ख्वप कलेजको सभाहलमा शैक्षिक ऋणको लागि आवेदन परेकामध्ये अन्तरवार्ताबाट छनोट भएका सफल विद्यार्थीहरूलाई शैक्षिक ऋण वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवम् अभिभावकहरुलाई आग्रह गरे। भक्तपुर नपाले शैक्षिक विकासको लागि गरेको प्रयासहरूबारे विद्यार्थीहरूलाई अवगत गराउँदै उनले भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास हुन सफल भएकोमा नपाले सञ्चालन गरेका कलेजहरू र यहाँका शैक्षिक संस्थाहरूको ठूलो भूमिका र योगदान रहेको बताए ।
उनले आर्थिक कारणले गर्दा कोही पनि पढाईबाट बञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको अवधारणा अगाडि सारेको बताउँदै आफ्नो विषयमा दक्षता हासिल गरी देश र समाजको सेवाको लागि काम गर्न मार्गनिर्देश गरे।
जनताको आधारभूत आवश्यकताभित्र पर्ने शिक्षा र स्वास्थ्य निकै महगिँदै गएको वर्तमान अवस्थामा नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीको निम्ति छात्रवृत्तिको पनि व्यवस्था गरेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको बताए।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै शैक्षिक ऋण, छात्रवृत्तिलगायत प्रदान गर्दै आइरहेको चर्चा गर्दै भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीहरूमा निकै प्रतिस्पर्धा हुने गरेको बताए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर न्यून ब्याजदरमा रु. पाँच लाख सम्मको रकम वितरण कार्य अरु स्थानीय तहको लागि सिक्न योग्य भएको बताउँदै भक्तपुर नपाले यो कदमले देशको सेवामा समर्पित सभ्य, सुसंस्कृत र सक्षम नागरिक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य, वडाध्यक्षहरूको पनि सहभागिता रहेको थियो भने शैक्षिक ऋण लिने विद्यार्थीहरू आफ्ना अभिभावकहरूसहित उक्त कार्यक्रममा सहभागी भएका थिए ।