९० डिग्रीमा झुकेको घाँटीको सफल शल्यक्रिया, … अनि मुस्कुराइन् अफशीन

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

एजेन्सी, २ साउन

१० महिनाकी अफशीन गुल एक दिन दिदीको हातबाट खसिन्। उनका आमाबुवाले उनलाई डाक्टरकहाँ लगे।

उनको घाँटी ९० डिग्रीमा झुकेको थियो। डाक्टरले उनलाई केही औषधि दिए र घाँटीमा बेल्ट बाँधेर पठाए तर उनको अवस्था झन् बिग्रँदै गयो।

सात सन्तानमध्ये कान्छी उनी १३ वर्षसम्म न कहिल्यै स्कुल गइन् न त उनका कोही साथी नै बने।

उनी सेरेब्रल पाल्सी नामको रोगबाट पिडित भइन्। उनले छ वर्षको भएपछि मात्रै हिड्न र आठ वर्षको हुँदा बोल्न सिकिन्।

पाकिस्तानको कराची सहरबाट करिब ३०० किलोमिटर टाढा रहेको मिठी भन्ने गाउँमा उनले निकै संघर्षपूर्ण १३ वर्ष बिताइन्।

गएको मार्चमा जब एक भारतीय डाक्टरले उनको घुमेको घाँटीको सफलतापूर्वक शल्यक्रिया गरे। त्यसपछि उनको जीवन कायापलट भयो। दिल्लीको एपोलो अस्पतालका जटिल स्पाइनल सर्जरीका विशेषज्ञ डा राजगोपालन कृष्णनले अफशीनको नि:शुल्क शल्यक्रिया गरेका हुन्।

शल्यक्रियाको चार महिनापछि अफशीन आफैं हिँड्न, बोल्न र खान सक्छिन्। उनको शल्यक्रियाको घाउ निको भएको छ। आजकल डाक्टर कृष्णनले हरेक हप्ता स्काइप मार्फत उनलाई जाँच गर्छन्।

‘उनी अलि कमजोर छिन्, र अझै स्कूल जान सक्ने भएकी छैनन्, तर डाक्टरले समयसँगै निको हुन्छ भन्नु भएको छ,’ अफशीनको दाइ याकूब कुम्बर भन्छन्, ‘हामी धेरै खुसी छौं- डाक्टरले मेरी बहिनीको जीवन बचाउनु भयो। हाम्रो लागि उहाँ भगवान हुनुहुन्छ।’

डा कृष्णनको अनुसार अफशीनलाई ‘एटलान्टो एक्सल रोटेटरी डीसलोकेसन’ भएको थियो, अर्थात् यस्तो मेरुदण्डको घुमाई जसले घाँटीमा समस्या निम्त्याउँछ। ‘यो सायद संसारमा यस प्रकारको पहिलो केस हो,’ डा कृष्णनले भने।

२०१७- जुन समय संसारले अफशीनको समस्या थाहा पायो
२०१७ मा  एउटा समाचार वेबसाइटको लेखले अफशीनको कथालाई समेट्यो। त्यसलगत्तै सामाजिक संजालमा उनको चर्चा सुरू भएको थियो। त्यसपछि प्रख्यात पाकिस्तानी अभिनेता अहसान खानले फेसबुकमा अफशीनको तस्बिर सार्वजनिक गर्दै मानिसहरूलाई मद्दत गर्न आग्रह गरेका थिए।

उनको परिवारलाई शल्यक्रिया खर्च गर्न मद्दत गर्न अमेरिकामा एक आयोजकले अनलाइन फन्डरेजर पनि बनाएको थियो।

२०१७ को नोभेम्बरमा पाकिस्तान पिपुल्स पार्टीका एक सांसद नाज बलोचले ट्वीट गरेर सरकारले अफशीनको पूर्ण उपचार गर्ने समेत जनाएका थिए।

उनलाई फेब्रुअरी २०१८ मा कराँचीको सबैभन्दा ठूलो निजी आगा खान विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो। जहाँ विशेषज्ञहरूले उनको शल्यक्रिया गर्ने बताएका थिए तर बच्ने नबच्ने ग्यारेन्टी दिएका थिएनन्।

त्यसपछि अफशीनका आमाबुवाले डाक्टरसँग यसबारे सोच्न समय मागे र उनलाई घर लगे। तर उनीहरु अर्को छोरीको बहिनीको बिहेमा व्यस्त भए र तत्कालै उनको उपचार हुन सकेन।

विवाहपछि परिवारले अफशीनको उपचार पुनः सुरु गर्न सरकारी अधिकारीहरूलाई सम्पर्क गर्यो तर सकारात्मक प्रतिक्रिया पाउन सकेन। उनीहरु निराश भए।

यसरी सुरु भयो भारतको यात्रा
२०१९ मा बेलायती पत्रकार अलेक्जान्ड्रिया थोमसले उनको अवस्था र उनको परिवारको आर्थिक अवस्थाबारे लेख लेखेपछि अफशीन फेरि अर्कोपटक चर्चामा आइन्। थोमसले अफशीनको परिवारलाई दिल्लीमा डा कृष्णनसँग सम्पर्कमा पुर्याए। कृष्णनले अफशीनको दाइ कुम्बरसँग कुरा गरे र उनीहरुलाई मद्दत गर्न इच्छुक रहेको बताए। त्यसपछि परिवारले मेडिकल आधारमा भिसाको लागि आवेदन दिए।

गत वर्ष नोभेम्बरमा उनीहरु भारत आइपुगे। भारतमा उनीहरुलाई ‘डारुल सुकुन’ नामको स्वतन्त्र बाल हेरचाह संस्थाले सहयोग गर्यो।

अफशीन र उनको परिवारका लागि यो अत्यन्तै कठिन समय थियो, कुम्बर सम्झन्छन् ‘डा कृष्णनले हामीलाई शल्यक्रियाको क्रममा उनको मुटु वा फोक्सो बन्द हुन सक्ने बताएका थिए।’

उनीहरुलाई आर्थिक समस्याहरू पनि भइरहेको थियो। अफशीनको परिवारसँग उपचारको लागि तिर्न पैसा थिएन। त्यसैले उनीहरू अनलाइन कोषमा भर परिरहेका थिए।

तर, डा कृष्णनले परिवारलाई हिम्मत दिइरहे। कुम्बर भन्छन् कि उनी यस अवधिमा धेरै डाक्टरहरूसँग सम्पर्कमा थिए, तर उनीजस्तो ‘संवेदनशील र दयालु’ कोही थिएनन्। ‘उहाँको प्रयास र सुपरिवेक्षणले शल्यक्रिया सफल भयो,’ उनले थपे।

अफशीनको दुईवटा ठूला शल्यक्रिया गराएपछि मात्रै अर्को ठूलो र मुख्य शल्यक्रिया गरिएको थियो। मुख्य शल्यक्रिया फेब्रुअरीमा भएको थियो।

डाक्टर कृष्णनले बताए अनुसार उनले र उनको टोलीले छ घण्टाको शल्यक्रियामा अफशीनको खप्पर उनको मेरुदण्डमा जोडेका थिए। त्यसपछि खोपडीलाई घाँटीलाई सीधा राख्नको लागि स्टिक र पेंचको प्रयोग गरेर पाठेघरको मेरुदण्डमा जोडिएको थियो।

शल्यक्रिया सफल भएपछि डाक्टर कृष्णनले पत्रकारहरुसँग उपचार नभएको भए अफशिन कम बाँच्ने बताएका थिए।

तर उनी अहिले ‘मुस्कुराउँदै कुरा गरिरहेकी छिन्’, कुम्बरले जुलाईमा इदको एक दिन अघि फेसबुकमा आफ्नी मुस्कुराएकी बहिनीको तस्बिर पोस्ट गर्दा लेखेका छन्।

‘यद्यपि केही जटिलताहरू छन्, उनी अझै पनि अन्य बच्चाहरूको तुलनामा ढिलो छिन्’ उनको दाइ भन्छन्, ‘तर त्यो समय संगै राम्रो हुँदै जान्छ। अहिलेको लागि, म खुसी छु किनकी मेरी बहिनी जीवित र खुसी छ।’

डा कृष्णनले यसअघि सन् २०१६ मा च्यानल ५ को डकुमेन्ट्री ‘द ब्वाय हु सीज अपसाइड डाउन’का लागि १२ वर्षीय महेन्द्र अहिरवारलाई अपरेट गरेका थिए। महेन्द्रको घाँटी सानैदेखि १८० डिग्रीको कोणमा झुण्डिएको थियो।

-(बीबीसी ‌अंग्रेजीमा प्रकाशित यो सामग्री अन्शु खनालले अनुवाद गरेकी हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *