न्यूज अपडेट संवाददाता
भक्तपुर, २० असार
लक्ष्मी प्रसाद कुसीको अध्यक्षतामा तदर्थ समिति गठन

भक्तपुरमा आदर निकेतनको आवश्यकतालाई दृष्टिगत गरी भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरणमा छलफल तथा भेला कार्यक्रम गर्दै आएको छ । उक्त प्रयोजनका लागि गठन प्रक्रियालाई अगाडि बढाउन भक्तपुर आदर निकेतनको प्रारम्भिक भेला सोमबार एक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्रजापतिले भक्तपुरमा आदर निकेतनको सुरुआत गर्नु खुशीको कुरा भएको बताउँदै यसमा आउने चुनौतीलाई सामना गर्न पनि अघि सर्नुपर्ने बताए । उनले आदर निकेतनका लागि विभिन्न चरणमा छलफल गरी ठोस कार्य अगाडि बढाउन पहल गर्नुपर्ने बताए ।
जगनाथ प्रजापतिले आदर निकेतनको प्रक्रियागत गठन विधि र त्यसको समाधानका विषयमा स्पष्ट पार्दै प्रारम्भिक भेलाले आदर निकेतनको प्रारम्भ भएको बताए । भक्तपुर आदर निकेतनका लागि भएका विभिन्न छलफल तथा नीति नियमबारे संयोजक लक्ष्मी प्रसाद कुसीले स्पष्ट पारे ।
उक्त भेलाले लक्ष्मी प्रसाद कुसीको अध्यक्षतामा ९ सदस्यीय भक्तपु आदर निकेतन तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राम प्रसाद प्रजापति, कोषाध्यक्षमा तारादेवी धन्छा, सचिवमा जगनाथ प्रजापति, सदस्यहरुमा विष्णुकुमार प्रजापति, कृष्ण सुन्दर प्रजापति, रामलक्ष्मी दुवाल, लक्ष्मी प्रसाद दुवाल र रामेश्वरी कोजू चयन भएका छन् ।