न्यूज अपडेट संवाददाता
भक्तपुर, २० असार

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा चारपाङ्ग्रे १५ दिने सवारी चालक तालिमको प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर साकोस जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा अघि बढिरहेको जानकारी गराउँदै यसको कारण आर्थिक मात्र नभई सामाजिक कार्य पनि भएकाे बताए । आगामी दिनहरूमा पनि सदस्यहरूको मागलाई ध्यानमा राखी युवाहरूलाई लक्षित गरी कम शुल्कमा नयाँ नयाँ सीपमूलक तथा रोजगारीमूलक तालिमहरू सञ्चालन गर्दै जाने उनकाे भनाइ छ । उनले सवारी चालकहरूले आफ्नो सुरक्षाको लागि आफै सचेत रही ट्राफिक नियमको पालना गरी सवारी साधनको प्रयोग गर्न आग्रह गरे।
उक्त कार्यक्रममा पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेँथुले नेपालमा सबैभन्दा बढी अकालमा मृत्यु सवारी साधन दुर्घटनाबाट भएको जानकारी गराउँदै क्षतिबाट जोगिन हतारमा हैन सुरक्षित र संयमित भई सवारी चलाउनुपर्ने बताए।
एन्टिक ड्राइभिङ्ग स्कूल प्रा.लि. का प्रशिक्षक लालकाजी श्रेष्ठले ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य स्थानीय व्यक्तिहरूले भक्तपुरमै सहजरूपमा राम्रो र कम शुल्कमा युवाहरूको सीप विकासका लागि र भक्तपुरको आम्दानी बाहिर नजाओस् भन्ने हेतुले सञ्चालन गरेको बताए। आगामी दिनहरूमा पनि भक्तपुर बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी काम गर्न चाहेको उनले बताए।
कार्यक्रममा अतिथिहरूलाई संस्थाका अध्यक्ष बलराम प्रजापतिले मायाको चिनो वितरण गरे। सञ्चालक सदस्य एवं युवा उपसमितिका संयोजक विष्णुकुमार प्रजापति, कृष्णश्वरी दुवाल, सत्यनारायण सिजख्व र युवा उपसमितिका सदस्य विकास प्रजापतिले पनि बोलेको थियो ।