न्यूज अपडेट संवाददाता
सिन्ह्वा/एपी, २० असार

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफूलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानको त्रिपक्षीय सैन्य सहयोगको विरोध गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको जनाएको छ ।
प्रजग कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै त्रिदेशीय सैन्य सहयोगले आफ्नो सैन्य क्षमता बढाउन बाटो खोलेको जनाएको छ । प्रजग कोरियाका छिमेकीहरूले पनि प्योङयाङ हतियार परीक्षणहरूको उत्तेजक दौडमा रहेको तथा पाँच वर्षपछि पहिलो आणविक परीक्षणको लागि तयार रहेको बताएका छन् ।
पछिल्लो परिस्थितिले कोरियाली प्रायःद्वीप र बाँकी विश्वको सुरक्षा वातावरणको द्रुतगतिमा बढ्दो तीव्र वृद्धिसँगै त्यसको सक्रियताका साथ सामना गर्न देशको प्रतिरक्षा निर्माण तत्काल गर्नुपर्नेमा प्रजग कोरियाको विदेश मन्त्रालयले जोड दिएको छ । यद्यपि, उसले आफ्नो सैन्य सामथ्र्य कसरी बढाउने भन्नेबारेमा केही उल्लेख गरेको छैन ।
गत साता स्पेनमा भएको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको साइडलाइनमा अमेरिका, दक्षिण कोरिया र जापानी नेताहरूबिच भएको त्रिपक्षीय बैठकमा प्रजग कोरियाको आणविक चुनौतीको सामना गर्न पारस्परिक सैन्य सहयोग अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो ।